Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘रेस ३’ लाई हल खाली, आएनन् नेपाली फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2018/06/15
ठूला भनिएका बलिउड फिल्म रिलिज हुँदा नेपाली निर्माताहरु कुना पस्ने परम्परा वर्षौदेखि चल्दै आइरहेको छ । यसपटक पनि यो नियम तोडिएन । बलिउड सुपरस्टार सलमान खान अभिनीत '३डी' फिल्म ‘रेस ३’ ले भारतसँगै नेपालमा पनि एकल रिलिजको मौका पाएको छ । 
 
ईदलाई लक्षित गरेर शुक्रवारबाट देशभरका करीब १२० बढी हलमा प्रदर्शन आरम्भ गरेको यो फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । यसलाई नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले ३० शोज उपलब्ध गराएको छ ।
 
‘रेस ३’ ले क्यूएफएक्स अन्तगर्तको सिभिल मलमा ८ शोज, लाबिङ मलमा ७ शोज, छायाँमा ८ शोज, कुमारीमा ४ शोज र जय नेपालमा ३ शोज पाएको छ । यो फिल्म '३डी' मा बनेका कारण क्यूएफएक्सले आफ्नो '३डी' हल सिभिल मलमा १, लाबिङ मलमा २ र कुमारीमा १ शोज गरि कूल चार शोज दिएको छ ।  
 
यस्तै, यो फिल्मलाई राजधानीका अन्य मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् । बिग मुभिजले १० शोज, क्यूज सिनेमाजले '२डी' र '३डी' गरि कूल १० शोज, विएसआर मुभिजले '२डी' र '३डी' गरि कूल १० शोज र एफक्यूबले '२ डी' र '३ डी' गरि कूल १५ शोज उपलब्ध गराएको छ । मल्टिप्लेक्समा फिल्मको एडभान्स बुकिङ आक्रामक छ । 
 
गोपीकृष्ण मुभिजले यो फिल्मको नेपाल प्रदर्शन अधिकार किनेको हो । वर्षौदेखि नेपाली बजारमा समेत राज गरिरहेका अभिनेता सलमान खानका नेपालमा पनि असंख्य डाइहार्ट फ्यान छन् । 
 
उनका हरेक फिल्मले नेपाली बजारबाट बोराका बोरा पैसा बटुल्ने गर्दछन् । एक्सन फिल्ममा सर्वाधिक रुचाइने सलमानको ‘रेस ३’ ले पनि नेपाली बजारबाट कराडौं पैसा छाप्ने आँकलन गरिएको छ ।
 
रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।
Most Visited News (monthly)