
हाल ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’ को चितवनको ऐतिहासिक स्थान 'उपरदाङ्ग गढी' मा छायांकन भइरहेको छ । एक सातादेखि छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन सेड्यूल पश्चात् यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए ।
'उपरदाङ्ग गढी' चितवनको पुरानो सदरमुकाम हो । समुन्द्रि सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ ।

'नालापानी' को छायांकन उपरदाङ्ग गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले सोही स्थान रोजेको निर्माता मनोज शाक्यले बताए । 'अत्यन्तै साँघुरो बाटोमा नेपाल आर्मीको गाडी लिएर पुग्नु निकै जोखिम पुर्ण थियो । नालापानीमा यहि स्थान नै चाहिने भएकोले हामीले जोखिम मोलेरै भएपनि छायांकन गरेका हौँ', निर्माता शाक्यले बताए ।
निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भइरहेको छ । यो फिल्म प्राचार्य रामराजा कुँवर र प्रा. डा. धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित छ ।

‘नालापानी’ मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

