.jpg)
असार ८ गते अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ स्टारर फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज हुँदैछ । अचेल यो कपल यही फिल्मको प्रचार-प्रसारमा दौडिरहेका छन् । यी दुई फिल्म 'रानी' पछि फेरि पर्दामा एकसाथ देखिन लागेका हुन् ।
गीतसंगीत र ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता बढ्दै गर्दा कलाकारदेखि निर्देशकसम्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ उत्कृष्ट फिल्म बनेको बताउँछन् । सोमवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्देशक विकाश बस्यालले युवापुस्ताका दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको बताए ।
उनी भन्छन्, ‘एउटा सरल कथावस्तुमा निर्माण भएको फिल्म हो ‘तिमी हुन्छौ जहाँ जहाँ’ । बनिरहेका फिल्महरुभन्दा फरक बनाउने प्रयास गरेका छौं ।’ अभिनेता मनिष भने फिल्म मेकिङदेखि कथासम्म उत्कृष्ट रहेको दाबी गर्छन् ।
.jpg)
यस्तै, अभिनेत्री मलिना जोशीले युवापुस्ता केन्द्रित लभस्टोरी फिल्म रहेको बताइन् । मनिषसँगको दोस्रो सहकार्य कस्तो रह्यो ? पत्रकारको प्रश्नमा उनी भन्छिन्, 'एकदमै सजिलो । हामी मिल्ने साथी हौं । काम गर्न हामी दुवैलाई एकअर्कासँग एकदमै सहज लाग्छ । दोस्रो सहकार्य झन् रमाइलो भयो ।'
आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै गर्दा ‘तिमी हुन्छौ जहाँ जहाँ’ को पत्रकार भेटघाटमा अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेता मलिना जोशीले पनि आफ्नो मनपर्ने फुटबल टिमको बारेमा बताए ।
.jpg)
अभिनेता श्रेष्ठले यस पटक पोर्चुगललाई समर्थन गरेका छन् भने मलिनाले फुटबलप्रेमी नभएपनि ब्राजिलले विश्वकप जितेको हेर्न आतुर रहेको बताइन् । यस्तै, नव-अभिनेत्री तमन्ना केसी भने फुटबलको विषयमा अनविज्ञ रहेछिन् ।
तश्बिर : स्माइल

