
आफ्नो ५४ औं जन्मदिनको अवसर पारेर महानायक राजेश हमाल नयाँ फिल्ममा अनुवन्धित भएका छन् । पछिल्लो रिलिज फिल्म 'सकुन्तला' पछि पर्दामा नदेखिएका अभिनेता हमाल निर्देशक दिनेश श्रेष्ठले निर्देशन गर्ने अनटाइटल प्रोजेक्टमा काम गर्ने कन्फर्म भएको छ ।
'सकुन्तला' पनि दिनेशले नै निर्देशन गरेका थिए । शनिवार दिउँसो आफ्नै निवासमा फिल्मका निर्देशक श्रेष्ठ र निर्माता शिवराज कार्कीबाट उपहार स्वरुप प्राप्त केक काट्दै अभिनेता हमालले आफू नयाँ फिल्ममा काम गर्न लागेको जानकारी दिए ।
पहिलो र दोस्रो चरण पार गरेर यतिबेला निर्माण टिम तेस्रो चरणमा पुगेको छ । बिग बजेटमा निर्माण हुने बताइएको फिल्ममा हमालको विल्कुलै फरक भूमिका रहने निर्देशक श्रेष्ठले जानकारी दिए ।

उनले भने, 'यो फिल्मका लागि हामी लामो समयदेखि गृहकार्य गरिरहेका थियौँ । राजेश दाई स्वयम ७ महिना स्क्रिप्टमा बस्नुभयो । अन्ततः आफ्नो जन्मदिनमा फिल्म साइन गर्नुभएको छ ।' उनी फिल्ममा अभिनेता हमालको पृथक भूमिका रहने बताउँछन् ।
यस फिल्ममा राजेश हमालसँगै चार अभिनेत्रीको पनि लिड रोल रहनेछ । अभिनेत्रीको भने खोजी भइरहेको छ । हाल दुई नायिकासँग छलफल चलिरहेको निर्देशक श्रेष्ठले बताए । अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की उक्त फिल्मको निर्मातामा रहनेछन् ।

तिहारपछि छायांकन सुरु हुने बताइएको फिल्मको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेका छन् । उनी निर्देशित नयाँ फिल्म 'चिँ मुसी चिँ' साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्नुस् :-

