असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वीराङ्गना’ का निर्देशक राज बहादुर साने र लिड अभिनेता अनुप विक्रम शाहीबीचको विवाद छताछुल्ल भएको छ । सुटिङको क्रममा भएको निर्देशकसँगको विवादका कारण अहिले अभिनेता शाही फिल्मको प्रचारमा देखिएका छैनन् ।
बिहीवार राजधानीमा फिल्मको विषयमा जानकारी दिन मैतीदेवीमा अवस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाटको कार्यक्रम राखिएको थियो । जहाँ निर्देशक साने, अभिनेत्री शिल्पा पोखरेल, अभिनेता पुथ्वीराज प्रसाईँ र निर्माता श्याम बहादुर थापालगायत उपस्थित थिए ।
प्राप्त जानकारी अनुसार, फिल्ममा अभिनेत्री पोखरेललाई बढी स्क्रिन स्पेस दिएपछि अनुप रुष्ट भएका थिए । यर्थाथ कुरा के हो त ? निर्देशक साने भन्छन्, 'स्क्रिप्ट अनुसार सुटिङ गरिएको छ । एउटालाई बढी र अर्कोलाई कम भन्ने प्रश्नै उठ्दैन ।'

अनुपको काम व्यस्तताले गर्दा फिल्ममा एउटा एक्सन सिन खिच्न नसकेकोमा उनले दुखेसो पोखे । उनले अनुप र आफूबीचको विवादको खबर भने भ्रमपूर्ण रहेको बताए । अनुप भने कलाकारलाई निर्माण टिमले 'चिट' गरेको आरोप लगाउँछन् ।
फिल्मीखबरसँगको फोनवार्तामा उनले भने, 'उहाँहरुले स्टोरीको ७० प्रतिशतमात्र खिचेर फिल्म रिलिज गर्न लाग्नुभएको छ । मैले उहाँहरुलाई फिल्मको जुन 'जिस्ट' छ त्यो नखिचि फिल्म रिलिज नगर्नु भनेको थिएँ । तर, पैसा अभाव भएपछि उहाँहरुले सुटिङ प्याकअप गरेर फिल्म रिलिज गर्दै हुनुहुन्छ ।'
'पहिला हामीसँग पैसा छ फिल्म राम्रोसँग खिच्छौँ । कुनै पनि कुरामा कमी हुन दिँदैनौँ भन्नुभएको थियो । तर पछि पैसा अभाव भयो' उनले अगाडि थपे, 'उहाँहरुले कलाकारलाई चिटिङ गर्नुभयो ।'
निर्देशकसँगको विवादका कारण अनुप अब यस फिल्मको प्रचार-प्रसारमा हिँड्ने सम्भावना मरेको छ । अब यसको सम्पूर्ण भार शिल्पा र पुथ्वीमाथी पर्न जाने देखिन्छ । भिलेनको भूमिकामा पछिल्लोे समय अनुप निर्माता/निर्देशकको पहिलो रोजाईमा पर्ने गर्दछन् ।

