एउटै स्टारका एकभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अब नौलो रहेन । यसअघि कयौँ पटक यस्ता परिदृश्य देखिँदै आएका छन् । केही हप्ता अगाडि अभिनेत्री प्रियंका कार्की स्टारर 'कोहलपुर एक्सप्रेस' र 'ह्याप्पी डेज' एकसाथ हलमा लागेका थिए ।
यस्तैमा लोकप्रिय कलाकार वुद्दि तामाङका दुई फिल्म शुक्रवारबाट देशभर प्रदर्शनमा आएका छन् । ‘चङ्गा’ र ‘मट्टिमाला’ फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका हुन् । यी दुवै फिल्ममा वुद्दि लिड रोलमा छन् ।
‘हैट’ उपनामबाट चिनिने उनी अचेल सबैभन्दा धेरै पर्दामा देखिने कलाकार मध्येका एक हुन् । उनी अनुपस्थित फिल्म अब दर्शकले नै अधुरो ठान्ने गर्दछन् । उनलाई पछिल्लो समय साउथ इण्डियन फिल्मका कमेडियन ब्रमानन्द समेत भन्ने गरिन्छ ।
अफर आएका कुनै पनि फिल्म नछाडनुले पनि उनी अभिनीत फिल्मका संख्या दिन प्रतिदिन बढ्दो छ । दर्शकले पर्दामा उनको कमेडी पाटो औधि रुचाउने गर्दछन् ।
यसकारण पनि निर्माता/निर्देशकको रोजाईको लिस्टमा उनको नाम अग्रपंक्तिमा आउँछ । तर, हप्ता ननाघ्दै होइन अब एकै दिन उनका दुई फिल्म हलमा लाग्नुले वुद्दिको लोकप्रियताको गलत प्रयोग भइरहेको देख्न सकिन्छ ।
उनी अभिनीत फिल्म ‘चङ्गा’ लाई हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेका हुन् । फिल्ममा वुद्दिका अलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।
हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार-चढावलाई जोडिएको छ ।
रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।
यस्तै, ‘मट्टिमाला’ लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । यसमा वुद्दिका अलावा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईलगायतका कलाकारहरुको अभिनय छ ।

