फिल्म 'लज्जा' बाट भित्रिएकी अभिनेत्री हुन् शिल्पा पोखरेल । त्यसभन्दा अगाडि उनले २ सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी थिइन् । छविराज प्रोडक्शनको ब्यानरमा उनको डेब्यू फिल्म निर्माण भएको थियो । यसपछि उनले यो ब्यानर छाडेकी छैनन् ।
'किस्मत २', 'हवल्दार सुन्तली', 'मंगलम' जस्ता फिल्ममा उनले अभिनय गरिसकेकी छिन् । एकसमय यो ब्यानरकी रेखा थापा भरपर्दी अभिनेत्री थिइन् । छविराज ओझासँग डिभोर्स भएपछि उनको ठाँउ शिल्पाले लिएकी हुन् । अहिले यो ब्यानरकोे तल बन्ने हरेक नयाँ फिल्ममा शिल्पा नै पहिलो र अन्तिम रोजाई हुने गर्दछिन् ।
गएको २ वर्षदेखि शिल्पा र छविराज ओझाको विवाहको प्रशंगले पनि सिनेवृत खुब तातेको छ । तर, यो सबै फिल्म रिलिजको बखत मात्र । 'मंगलम' रिलिजताका उग्र भएको यो जोडीको विवाहको चर्चा अहिले शान्त छ । काँचको पर्दामा एक्सन अवतारमा औधि रुचाइएकी शिल्पाको आउँदो असार २९ गते नयाँ फिल्म ‘वीराङ्गना’ रिलिज हुँदैछ ।

यो छविराज ब्यानरमा निर्माण भएको फिल्म होेइन । तर, उनले बाहिरी ब्यानरका फिल्ममा काम गर्ने वा नगर्ने भन्ने निर्णय छविराजकोे हातमा हुने सिनेवृतमा चर्चा छ । के यो सत्य हो ? बिहीवार ‘वीराङ्गना’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यो कुराको खण्डन गरिन् ।
उनले भनिन्, 'छविराज ओझाको अनुमतीपश्चात् मात्र अन्य फिल्ममा मैले काम गर्न पाउँछु भन्ने कुरा गलत हो । हो, म हरेक फिल्मको अफर आउँदा एकपटक उहाँलाई सोध्छु । स्क्रिप्ट सुनाउँछु । उहाँको सुझाब लिन्छु । तर, अन्तिम निर्णय मेरै हुन्छ ।'
उनले ‘वीराङ्गना’ मा दर्शकले पुनः आफ्नो एक्सन अवतार हेर्न पाउने बताइन् । उनी भन्छिन्, 'मंगलम' रिलिजताका हामी हल-हलमा पुग्दा धेरै दर्शकले मेरो एक्सन खोजेको पाएँ । अब त्यो चाहना ‘वीराङ्गना’ ले पूरा गर्छ ।'
एक्सन जनराको नारी प्रधान भनिएको यस फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । यो फिल्ममा शिल्पाका अलावा अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको अभिनय रहेको छ ।

