.jpg)
भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले काँचको पर्दामा देख्न पाएका छैनन् । एक समय उनी नेपाली फिल्मकी निर्विकल्प हिरोइन थिइन् । तर, अहिले उनको एक झलक हेर्नका लागि पनि प्रशंसकहरु आतुर छन् ।
एक छोराको आमा समेत भैरहेकी विपना बेला बखतमा नेपाल भने आइरहेकी हुन्छिन् । भारतको मथुरामा बस्दै आएकी अहिले उनी नेपालमा नै छिन् । उनले चाँडै आफू नेपाली फिल्ममा कमब्याक गर्ने तयारीमा रहेको बताएकी छिन् ।
एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले छोरा स्कुल जान थालिसकेका कारण अब फिल्ममा फर्किने सोच बनाएको बताइन् । उनी भन्छिन्, 'म हरपल नेपाली फिल्म इन्डष्ट्रीलाई सम्झिरहेको हुन्छ । मैले जीवनका निकै मिठा पलहरु यहाँ विताएको छु । टाढा रहेर त बस्नै सक्दिनँ ।'
राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा फिल्म गर्न कुनै गाह्रो नभएको उनको भनाई छ । उनले अभिनय सँगसँगै फिल्म निर्माण गर्ने सोच पनि बनाएको बताइन् । उनी जस्तोसुकै भूमिकामा आफू काम गर्न तयार रहेको बताउँछिन् ।
'मलाई यो वा त्यो रोल चाहिन्छ भन्ने छैन । कमब्याक फिल्म राम्रो होस् भन्ने चाहना छ' उनी अगाडि थप्छिन्, 'भूमिका यस्तो हुनुपर्छ भनेर मैले पहिला पनि डिमाण्ड गरिनँ र भोलीका दिनमा पनि गर्दिनँ । म एक कलाकार हुँ । च्यालेन्जिङ रोल गर्न मन पर्छ ।'
.jpg)
विपना थापाले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’ लगायत १ सय ११ वटा फिल्ममा अभिनय गरिसकेकी छन् । उनको पहिलो फिल्म ‘जन्मभूमि’ २०५३ सालमा प्रदर्शनमा आएको थियो ।
तश्बिर : विनोद पोखरेल

