निर्देशक मिलन चाम्स विभिन्न कारणले लगातार खबरमा छन् । अभिनेता प्रदीप खड्कासँग 'पानी बाराबार' भएको खबरले होस् वा अभिनेता अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्न लागेका कारणले नै किन नहोस् केहीदिन यता उनी मिडियाको हेडलाइन बनिरहेका छन् ।

आइतवार साँझ फिल्म 'लभ स्टेशन' को घोषणा सभामा प्रदीपलाई अंकमाल गरेपछि फेरि उनी चर्चाको केन्द्रमा छन् ।
फिल्म 'लिलिबिली' रिलिजपछि निर्देशक चाम्सको अभिनेता प्रदीपसँग सम्बन्ध चिसिएको थियो । उनीसँग मात्र होइन यस फिल्मकी अभिनेत्री जसिता गुरुङसँग पनि ।
केही हप्ता अगाडि उनले स्टेजमा नाचिरहेको केटीलाई हिरोइन बनाएको तर फिल्म रिलिजपछि जसिता ठूलो पल्टेको आरोप लगाएका थिए ।
प्रदीपको लहिलहिमा लागेर आफ्नो फोनसम्म नउठाएको उनको गुनासो थियो । चाम्सले जसितालाई आफूले छोरी जस्तो मानेपनि उनले आफ्नो टाउको टेकेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा बताए ।
फिल्म 'लिलिबिली' रिलिजपछि जसिता लण्डन उडिसकेकी छिन् । उनी चाँडै नेपाल फर्किने बताइएको छ । आइतवार प्रदीप स्टारर फिल्म 'लभ स्टेशन' को घोषणा कार्यक्रममा निर्देशक चाम्समाथी जसितासँग सम्बन्ध विग्रिएको विषयमा पत्रकारका अनेकौं प्रश्न तेर्सिए ।
उनले सुरुमा त जसिताको विषयमा 'नबोल्दै राम्रो' भन्दै तर्किन खोजे । तर, पत्रकारले तपाई र उहाँको झगडाको खास कारण के हो ? भन्दै पुनः प्रश्न गरे । अनि, जवाफमा चाम्सले भने, 'जसिता हिरोइन हुन् । फिल्म खेलिन् । मेरी छोरी हुन् उनी ।'
केही हप्ता अगाडिसम्म जसितामाथी अनेकौं आरोप लगाएका उनी अहिले भने गसिपबाट टाढा रहन खोजेको देखिन्छ । उनी अहिले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘ब्याचलर बन्टी’ बनाउँदैछन् ।

