गएको चैत ३० गतेबाट प्रदर्शनमा आएको युवा स्टार प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ ले ५१ औं दिनको दुर्लभ सफलता आत्मसात् गरेको छ । जेठ २० गतेबाट फिल्म प्रदर्शनको ५१ औं दिनमा टेकेको हो ।
यस अवसरमा आइतवार साँझ यसका निर्माता गोविन्द शाहीले प्रदीपलाई लिएर निर्माण गर्न लागेको नयाँ फिल्म 'लभ स्टेशन' को औपचारिक घोषणा गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा ‘लिलिबिली’ ले ५१ औं दिन मनाएको खुसीयालीमा केक काटिनेछ ।
(1).jpg)
निर्माता शाहीका अनुसार, यस फिल्मले गोपीकृष्ण, गुण, अष्टनारायण र बाराहीसहित चार हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । उनले फिल्मको कलेक्सन रिपोर्ट भने बताउन चाहेनन् । फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ ।
प्रदीपको क्रेजका कारण ‘लिलिबिली’ ले बक्सअफिसमा आफूलाई हिट प्रमाणित गरेको छ । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् । यो फिल्मबाट अभिनेत्री जसिता गुरुङलाई सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ । 'लभ स्टेशन' मा पुनः प्रदीप र जसिताको जोडी बाँधिएको छ ।
मिलन चाम्स निर्देशित ‘लिलिबिली’ मा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

