हरेक हप्ताको शुक्रवार दुईभन्दा बढी फिल्मको भिडन्त हुनु यहाँ अब नौलो रहेन । वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुने हुँदा ठूला ब्यानर र स्टार कलाकारका फिल्मले मात्र सोलो रिलिज पाउने गर्छन् । यो हप्तामात्र हलमा तीन फिल्म (बेबि आई लभ यू, हरी र अमेरिका बोइज) प्रदर्शनमा आएका छन् ।
यस्तै, आउँदो मंसिर १४ गते दुई ठूला फिल्मको महासंग्राम हुँदैछ । वर्षमा एउटा फिल्म मात्र लिएर आउने अभिनेत्री नम्रता श्रेष्ठको 'जाइरा' र 'ऐश्वर्य' बाट चम्किएका प्रशान्त ताम्राकार स्टारर फिल्म 'रणवीर' एकसाथ प्रदर्शनमा आउँदैछन् । यी दुवै फिल्मले मंसिर १४ लाई रिलिज डेट लक गरेका छन् ।

हरेक फिल्ममा नयाँ अवतार धारण गर्ने नम्रता 'जाइरा' मा एक मार्शल आर्ट्स खेलाडीको भूमिकामा प्रस्तुत भएकी छिन् । 'पर्व' पछि पर्दामा नदेखिएका कारण पनि यो फिल्मप्रति दर्शकको चासो केही माथी देखिएको छ । हालैमा रिभिल गरिएको उनको खेलाडी लुक्सले पनि दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ ।
यो फिल्मका लागि उनले ५१ बाट ४३ केजी तौल घटाइन् । ६ महिना एक्सन सिकिन् । र, आफ्नो लोभलाग्दो कपालसमेत छोट्याइन् । उनले फिल्मप्रति देखाएको लगनशिलताले पनि 'जाइरा' राम्रो बनेको हुनसक्ने फिल्मी पण्डितहरुको आँकलन छ । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् ।
उता, प्रशान्त जोडिएका हरेक एक फिल्म अहिले दर्शकमाझ प्रतिक्षीत हुने गरेका छन् । हालसालै सार्वजनिक भएको उनको 'रणवीर' लुक्सले पनि फिल्मप्रति उत्सुकता जगाएको छ । अब मंसिर १४ गते बक्सअफिसको रिङमा नम्रता र प्रशान्तमध्ये कसले दमदार खेल प्रस्तुत गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।

