फिल्मलाई सिर्जनात्मक विधा मानिन्छ । सिर्जनशीलताको कुशल प्रयोग फिल्ममा हुनुपर्ने गुण हो । तर, आजकाल फिल्ममा सिर्जनशीलता कम, साभार बढी हुन थालेको छ ।
दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' बाट प्रभावित भएर अभिनेत्री केकी अधिकारीले 'कोहलपुर एक्सप्रेस' फिल्म निर्माण गरिन् । सोही फिल्मको अर्को नेपाली अनुवाद 'झमक बहादुर'
चाँडै प्रदर्शनमा आउँदैछ ।
चाँडै प्रदर्शनमा आउँदैछ ।
केकीले उक्त फिल्मबाट 'इन्स्पायर्ड' मात्र भएको भन्दै आफू चोखो बन्न खोजिन् तर 'झमक बहादुर' को ट्रेलर हेरेपछि त कुनै बहाना बनाउने ठाउँसम्म बाँकी छैन । यो 'मुम्बई एक्सप्रेस' बाट दुरुस्तै कपी छ ।
यस्तै, गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'शेरबहादुर' हलिउड फिल्म 'डन्ट ब्रिथ' को 'सक्कल बमोजिम नक्कल' तयार भयो ।
रिलिज अगाडिसम्म निर्देशक-निर्माताले यो फिल्म हलिउड फिल्मबाट प्रभावित भएपनि नेपाली मौलिकपनमा निर्माण भएको भन्दै दर्शकलाई ललिपप देखाइरहे तर रिलिजपछि यसले सुन्न लायक कमेन्ट पाएन ।
उता अभिनेता अनमोल केसी स्टारर फिल्म 'कृ' को ट्रेलरमा बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म 'डन २' को डाइलग (मेरो दुश्मनहरुले सोचेका होलान्) चोरियो ।
हलिउड र बलिउड फिल्मबाट डाइलग, पोष्टरको कन्सेप्ट, संगीत चोरिएको सामान्य भइरहँदा अब 'ए टू जेट' फिल्म पूरै फोटोकपी हुँदा पनि नौलो हुन छाडिसकेको छ ।
यसैबीच अहिले अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म 'जाइरा' पनि हलिउड फिल्म 'किल बिल' को पार्ट वानबाट प्राभावित भएको चर्चा छ ।
एकपछि अर्को नेपाली फिल्म फोटोकपी बनिरहँदा 'जाइरा' माथी यो प्रश्न उठ्नु स्वभाविकै हो । 'किल बिल' र 'जाइरा' एक्सन जनराका फिल्म हुन् । दुवै फिल्ममा महिला पात्र केन्द्रिय भूमिकामा छन् ।
के फोटोकपी नै हो त फिल्म ? 'जाइरा' का निर्देशक आशुतोष राज श्रेष्ठ भन्छन्, 'हामीले पनि त्यो सुनेका थियौं । एउटा कुरा के स्पष्ट गराउन चाहन्छु भने यो फिल्म 'किल बिल' को दुवै पार्टसँग केही पनि मिल्दैन ।' निर्देशक श्रेष्ठको यो कुरामा कति सत्यता छ त्यो भने फिल्म रिलिजपछि मात्र खुल्नेछ ।

