अभिनेताद्वय सलोन बस्नेत र आमेष भण्डारीले 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' मार्फत् देशभरका प्रतिभालाई नेपाली फिल्म क्षेत्रमा बिशेष अवसर दिने भएका छन् । यसअघि 'मोनाली ठाकुर लाईभ इन नेपाल' कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।
'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' को टीममा सलोन र आमेशको साथमा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् ।
नेपाली फिल्म तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा-युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने नायक बस्नेतले बताए ।
यहि असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भईसकेको छ । काठमाण्डौ उपत्यकाबाट शुरु हुने प्रतियोगिता दुई चरणमा हुनेछ ।
काठमाण्डौसहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा 'मिस्टर एण्ड मिस एम्पेरर' हुनेछ ।
विजेता बनेका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरि हरेक शहरबाट ६/६ जनाले 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' प्रतियोगितामा भाग लिन पाउनेछन् ।
आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा काम गर्ने अवसर पाउनेछन् ।
दोश्रो चरणमा 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड' विजेताले नेपाली फिल्ममा काम गर्ने मौका पाउने बताईएको छ । साथै, विजेताहरुले नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्षदेखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ ।
युवकको लागि ५ फिट ५ इन्चदेखि माथी र युवतीको लागि ५ फिट २ इन्चदेखि माथीको उचाईलाई मान्यता दिईनेछ ।
प्रतियोगितामा सहभागि हुनको लागि एसएमएस मार्फत पनि आवेदन दिन सकिनेछ । त्यसको लागि SMS बक्समा गई 'Empror Your Name, age, gender and location' टाइप गरी 31003 मा पठाउनु पर्नेछ । साथै, आठवटै शहरका विभिन्न स्थानहरुबाट समेत आवेदन फारम प्राप्त हुने बताईएको छ ।

