
नेपाल छायांकन सकाएर अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘रामकहानी’ को कतारमा छायांकन गरिएको छ । 'पशुपतिको जात्रा सिद्राको व्यापार' भने झैँ निर्देशक सुदर्शन थापा र अभिनेत्री शर्मा 'म यस्तो गीत गाउँछु' को विशेष शोका लागि कतार पुगेका हुन् ।
यसको फाइदा उठाउँदैै भाद्र २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रामकहानी’ को केही दृश्य पनि कतारमा छायांकन गरिएको छ । निर्देशक थापाले फिल्मको सुरुवात नै कतारबाट हुने जानकारी दिए ।

कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् । कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । उनकै, सहयोगमा फिल्मको कतार छायांकन संभव भएको सुदर्शनले जानकारी दिए ।
सुदर्शनले भने–‘हामीलाई फिल्मको छायांकनका लागि अनुमती लिन झण्डै ८ लाख खर्च गर्नुपर्यो । अब, नेपालमा एउटा गीतको छायांकन गर्न बाँकी छ ।’ फिल्मका छायाँकार सौरभ लामा पनि कतार पुगेका छन् ।

यो फिल्ममा पूजा आकाशका अलावा केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । ‘रामकहानी’ को ‘तिम्रो लागि म’ बोलको गीतलाई युट्युबमा २० लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

