रिलिज अगावै जोसिएर फिल्मको सिक्वेल निर्माण गर्ने अचेल होड नै चलेको छ । तर, अधिकांश रिलिज अगावै घोषणा गरिएका फिल्मको दोस्रो भाग बनेका छैनन् । दर्शकलाई हलसम्म तान्ने बाहना राम्रो मिल्ने हुँदा मेकर्सहरु यस्ता जुक्ती प्रयोग गर्ने गर्दछन् ।
.jpg)
अभिनेत्री ऋचा शर्माले पनि बिहीवार आफू अभिनीत तथा निर्मित हरर फिल्म ‘सुनकेसरी’ को प्रिमियरमा दोस्रो भाग निर्माण गर्ने घोषणा गरिन् । सिक्वेलका लागि ठाउँ बाँकी राखेका कारण चाँडै ‘सुनकेसरी - २’ लिएर आउने उनले वाचा गरेकी छन् ।
यो फिल्मले शुक्रवारबाट देशभरका हलमा प्रदर्शन सुरु गरेको छ । मल्टिप्लेक्समा उच्च शोज पाएको यस फिल्मले देशभर करीब ७० बढी 'स्कृन' पाएको छ । सोलो रिलिजमा आएको यसले बक्सअफिसमा सुखद नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ । उक्त फिल्मको मल्टिप्लेक्समा अग्रिम बुकिङ आक्रामक छ ।
बिहीवार साँझ ठमेलको छाँया हलमा आयोजना गरिएको प्रिमियरमा ‘सुनकेसरी’ लाई सुखद प्रतिक्रिया मिलेको छ । करिश्मा मानन्धर, कर्मा शाक्य, विपिन कार्कीलगायतले फिल्मको तारिफ गरे ।
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
.jpg)
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

