यही शुक्रवारबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘सुनकेसरी’ यसअघि नेपालमा निर्माण भएका हरर फिल्मभन्दा स्तरिय बनेको अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले दाबी गरेकी छन् । रिलिजको पूर्वसन्ध्यामा निर्देशक अर्पण थापासँग चितवन पुगेकी उनले यो फिल्म ठूलो रिक्स उठाएर निर्माण गरेको पनि बताइन् ।
कथाको माग अनुसार नेपालमा लोकेशन नभेटेका कारण अष्ट्रेलियामा सुटिङ गरिएको उनको भनाई छ । उनी भन्छिन्, 'अभिनयको हिसाबले पनि मेरा लागि ‘सुनकेसरी’ च्यालेञ्जिङ रह्यो । मैले हरेक नयाँ फिल्ममा फरक फरक भूमिका निभाएको छु । यसमा त झन् पूरै फरक छ ।'

यस्तै, निर्देशक थापाले ‘सुनकेसरी’ आफ्ना लागि चुनौतीपूर्ण रहेको बताए । उनी भन्छन्, 'एउटा उच्च स्तरिय फिल्म बनाउने कोशिश गरेका छौं । यो फिल्म राम्रो चले नेपालमा स्तरिय हरर फिल्म निर्माणको बाढी नै लाग्छ नभए अझै ७/८ वर्ष यो जनराका फिल्म नै बन्ने छैन ।'
थापाले फिल्म चल्ने वा नचल्ने भन्ने कुरा दर्शकको सोचमा भर पर्ने बताउँछन् । उनी थप्छन्, 'मनोरञ्जन लिन हल जाने दर्शकलाई 'सुनकेसरी' मनपर्छ तर हरर फिल्म हो मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने सोचका साथ गएमा मन नपर्न सक्छ ।'
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।
फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ । फिल्म १ करोड ३० लाखको लागतमा निर्माण भएको हो ।
‘सुनकेसरी’ को बुकिङ खुल्यो
यो फिल्मको बुधवार साँझबाट मल्टिप्लेक्समा बुकिङ खुल्ला गरिएको छ । सोलो रिलिजको लोट्री लागेको यस फिल्मले हलिउड र बलिउड फिल्मभन्दा पनि क्यूएफएक्स अन्तर्गतका हलमा उच्च शो पाएको छ ।
शुक्रवारबाट प्रदर्शनमा आउन लागेका हलिउड फिल्म 'सोलो : अ स्टार वार्स स्टोरी' १० शो र बलिउड फिल्म 'बाइस्कोपवाला' २ शोमै खुम्चिन बाध्य हुँदा ‘सुनकेसरी’ ले भने १५ शो हात पारेको छ ।

निर्माताले सर्वाधिक शेयर हात पार्ने क्यूएफएक्स चेन अन्तर्गतका ५ वटा च्यानलमा यसले यो संख्यामा शोज प्राप्त गरेको हो । त्यस्तै, एफक्युबमा ४, बिएसआर मुभिजमा ४ र क्युज सिनेमाजमा २ शोज पाएको छ । अन्य हलले अझै शोज बाँडफाँड गर्न बाँकी छ ।

