रणबीर कपूर र आलिया भट्ट अचेल अयान मुखर्जीको फिल्म फिल्म 'ब्रहास्त्र' को सुटिङ गरिरहेका छन् । फिल्मको पहिलो चरणको सुटिङ पूरा भइसकेको छ । यो फिल्म अर्को वर्षको १५ अगस्टमा रिलिज हुँदैछ ।
यो मितिमा बलिउड सुपरस्टार सलमान खानको फिल्म 'दबंग ३' पनि रिलिज हुने प्रवल सम्भावना छ । यो फिल्मको सुटिङ यस वर्षको अन्त्यबाट सुरु हुँदैछ । यसलाई अरबाज खानले निर्माण र प्रभुदेवाले निर्देशन गर्दैछन् ।

एक ट्रे़ड एक्सपर्टले डेक्कन क्रनिकलसँग भने, 'सलमानको सेड्युल निकै टाइट छ । उनले आफ्नो कोर्ट केसमा पनि ध्यान दिनु पर्नेछ र फिल्मको प्रमोशनमा पनि । यसकारण 'दबंग ३' अर्को वर्षको १५ अगस्टमा रिलिज हुन सक्नेछ ।'
'दबंग ३' भन्दा पहिला सलमान 'भारत' को सुटिङ गर्दैछन्, जसमा उनको साथमा प्रियंका चोपडा र दिशा पाटनी छन् । एक अन्तर्वार्तामा रणबीरले आफूलाई सलमान औधि मन पर्ने बताएका थिए । सलमानले रणबीरको दुई फिल्म 'सांवरिया' र 'अजब प्रेम की गजब कहानी' मा गेस्ट अपिरियन्स पनि दिएका थिए ।

