Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनसँग ‘पानी बाराबार’ छैन : नम्रता श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2018/05/23
लभस्टोरी जनराका फिल्ममा सबैभन्दा बढी रुचाइएको जोडी हो अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ । 'मेरो एउटा साथी छ', 'क्लासिक', 'नोभेम्बर रेन' जस्ता फिल्ममा एकसाथ काम गरिसकेका यी दुईको हरेक नयाँ फिल्म दर्शकका लागि प्रतिक्षीत हुने गर्दछ । 
तर, अहिले आर्यन र नम्रताको सम्बन्ध ठिकठाक नभएको चर्चा छ । करीब १ वर्ष अगाडि आर्यन आफ्नो लगानी र अभिनयमा एक फिल्म निर्माण गर्ने तयारीमा थिए ।
 
उक्त फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने खबर थियो । आर्यन फिल्मका लागि नयाँ नायिका खोज्दै थिए । तर, निर्देशक राउतले नम्रताको नाम सिफारिस गरे । 
 
आर्यनले लगातार एउटै नायिकासँग काम गर्न इच्छा देखाएनन्, जसकारण अब उक्त फिल्म नै नबन्ने छाँटकाँट देखिएको छ ।
 
अहिले निर्देशक राउत नयाँ फिल्म 'प्रसाद' निर्देशन गर्दैछन्, जसमा नम्रताको जोडीको रुपमा विपिन कार्की देखिँदैछन् । यसअघि उनले फिल्म 'पर्व' मा कोशिश क्षेत्रीलाई लिएका थिए । 
 
'क्लासिक' अगाडिसम्म नम्रता र आर्यन विना फिल्म नगर्ने दिनेश अचेल नम्रताका लागि आर्यनको विकल्प खोज्न थालेका छन् ।
 
देखावटी रुपमा आर्यन र दिनेश दुवैले सम्बन्ध राम्रो रहेको बताउँदै हिँडेपनि भित्रि पाटो भने गहिरो छ । उता नम्रता र आर्यनको पनि सम्बन्ध ठिकठाक नभएको चर्चा चुलिन थालेको छ । 
 
बजारमा आर्यनसँग ‘पानी बाराबार’ रहेको खबर उग्र भइरहँदा नम्रताले यस विषयमा आफ्नो मौनता तोडेकी छिन् ।
 
मंगलवार आफू अभिनीत फिल्म 'जाइरा' को एक कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनिन्, 'एउटा फिल्म सँगै नगर्दैमा ‘पानी बाराबार’ भयो भन्नु गलत हो । बजारमा त जे पनि हल्ला चल्छ । म ७ महिनादेखि 'जाइरा' का लागि व्यस्त थिएँ । आर्यनसँग यो अवधिमा भेट नभएका कारण त्यस्तो सुन्नु भएको होला । आर्यनसँग मात्र होइन अरु कसैसँग पनि मैले भेट गरेको छैन ।' 
 
आर्यनले आफ्नै होम प्रोडक्शनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर फिल्म 'कायरा' निर्माण गरेका छन् । यसमा उनको पनि लिड रोल छ । रोचक कुरा त नम्रता र आर्यनको फिल्मको नाम लगभग उस्तै लाग्छ । दर्शक नझुकिएलान् भन्न सकिन्न । 
 
यस विषयमा नम्रता भन्छिन्, '३ वर्ष अगाडि देखि नै 'जाइरा' निर्देशक आशुतोष राज श्रेष्ठको स्क्रिप्ट हो । निर्देशकको स्क्रिप्ट भएका कारण मैले बोल्न मिल्दैन । सुरु देखि नै फिल्मको नाम 'जाइरा' थियो । अहिले आएर कुनै फिल्म आयो भन्दैमा फिल्मको नाम परिवर्तन गर्न मिल्दैन । आर्यनकै भएपनि अनि अरुकै भएपनि ।' 
Most Visited News (monthly)