बलिउड कलाकार राजपाल यादव ५ दिने नेपाल बसाई सकेर स्वदेश फर्किएका छन् । उनी आफू अभिनीत नेपाली फिल्म 'करोडपति' को दोस्रो चरणको छायांकनका लागि नेपाल आएका थिए । उनी मंगलवार साँझ भारत फर्किएका हुन् ।

फिल्ममा समावेश एक गीतको सुटिङका लागि उनी नेपाल आएका थिए । भक्तपुर दरवारस्क्वायरमा छायांकन गरिएको गीतमा राजपाल र अभिनेता आर्यन अधिकारी दौरा–सुरूवालमा ठाँटिएका छन् । उक्त तश्बिर दुवैले आफ्नो फेसबुक र इन्स्टाग्राममा शेयर गरेका छन् ।
यस फिल्ममा राजपालले नेपालको गाउँले परिवेशको पात्र भूमिका निर्वाह गरेका छन् । उनी पहिलो पटक नेपाली फिल्ममा अभिनय गर्न पाउँदा दंग देखिन्छन् । अभिनेत्री नीता ढुङ्गानाको पनि यस फिल्ममा लिड रोल छ ।
'करोडपति' लाई अधिकारी ब्रदर्स पिक्चर्स र कृतन मुभिजले संयुक्त रुपमा प्रस्तुत गर्न लागेको हो । यस फिल्मका निर्देशकको नाम भने अझै खुलाइएको छैन । फिल्मको विषयमा जानकारी दिन केही दिनमा एक औपचारिक कार्यक्रमको आयोजना गरिदैछ ।

पैसाको विषयमा केन्द्रित यो फिल्मलाई हिन्दी भाषामा पनि डब गर्ने निर्माण टिमको तयारी छ । 'करोडपति' को बुधवारबाट सम्पूर्ण छायांकन सकिएको छ ।

