पर्दाका कलाकारको ब्रेकअप र प्याचअपका खबर अब सामान्य बनिसकेका छन् । बजारमा ब्रेकअपको हल्ला फिजाएर प्रेमको सागरमा डुब्नेदेखि ब्रेकअपपश्चात् आजसम्म एकअर्काको अनुहारसम्म नहेरेका यहाँ धेरै सेलिव्रेटी छन् ।
अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठबीचको साठगाँठ पनि निकै अनौठाकोे छ । गएको वर्ष सिनेबजारमा यी दुईको प्रेम चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिर आएको थियो ।
फिल्म 'बाबु कान्छा' को घोषणाको बखत सलोन र करिश्माले प्रेम सम्बन्धलाई टुंग्याएर साथीको सम्बन्ध विस्तार गरेको बताएका थिए ।

तर, अहिले हेर्दा लाग्दैन यी दुई साथी मात्र हुन् । इन्स्टाग्राम/फेसबुकमा सलोनले करिश्मालाई जन्मदिनको शुभकामना दिँदै 'माई क्विन' लेख्नु र करिश्माले सलोनको दर्जनौं फोटो राख्दै इन्स्टामा 'लभ लभ' लेख्नुले पनि यो कपल गहिरो प्रेममा रहेको पुष्टि हुन्छ ।
सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा करिश्मा र सलोन एकसाथ पुगेका थिए । त्यहाँ यी दुई हर सेकेण्ड एकअर्काकै साथमा देखिन्थे ।
दुवै मिठो हाँसोमा एकअर्कासँग कुरामा मस्त देखिएका थिए । यी दुईको साथमा सलोनका पीता तथा निर्देशक शोभित बस्नेत पनि थिए ।
'लभ सब' मा पहिलो पटक एकअर्कासँग काम गरेका करिश्मा र सलोन स्टारर नयाँ फिल्म 'बाबु कान्छा' आगामी असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
अचेल फिल्मको पब्लिसिटीका लागि पनि कलाकारको ब्रेकअप र प्याचअपको फण्डा चलाइने गरिन्छ । सलोन र करिश्माको प्रेम कहानी कतै 'बाबु कान्छा' का लागि त साचिएको थिएन ?

