Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चारमन्त्रीको बोर्ड अध्यक्षलाई निर्देशन : 'बक्सअफिस लागू गर्नुस्, नसके कुर्सी छाड्नुस्'

फिल्मीखबर, काठमाण्डौ, 2018/05/22
चलचित्र विकास बोर्डमा धेरै अध्यक्ष आए तर सबैले 'बक्सअफिस' लाई बहसमा मात्रै सिमित राखे र आफ्नो कार्यकाल सकाए । गएको वर्ष चर्को विवादका बीच बोर्ड अध्यक्षमा नेपाल सरकारले निकिता पौडेललाई नियूक्त गर्‍यो । 
 
पौडेलले बोर्ड अध्यक्षको कर्सीमा विराजमान भएसँगै नेपाली कलाकारलाई भारतमा अभिनय सिक्न पठाउने, चलचित्रकर्मीलाई आर्थिक सहयोग गर्नेदेखि बर्षौदेखि नारामा मात्र अड्किएको 'बक्सअफिस' लागू गर्ने विषयमा उल्लेखनिय काम गरेकी छन् । 
 
नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणाली साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा लागू गर्ने निकिताले घोषणा गरेपनि यसले अझै पूर्णता पाउन सकेको छैन । 
 
 
यसैबीच सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बोर्ड अध्यक्ष निकिता पौडेललाई तत्काल 'बक्सअफिस' लागू गर्न निर्देशन दिएका छन् ।
 
सोमवार राजधानीमा आयोजित चलचित्र पत्रकार संघ, नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा उनले भने, 'मलाई मिठो कुरा गर्न आउँदैन । तत्काल बक्सअफिस लागू गर्नुस् नसके कुर्सी छाड्नुस् ।'
 
मन्त्री बाँस्कोटाले हल सञ्चालकहरुको गुनासो सुन्न मन्त्रालय तयार रहेको पनि बताए । उनले भने, 'आउनुस् छलफल गरौं तर 'बक्सअफिस' लागू गर्न सबैले सहयोग गर्नुपर्छ । हलवालाहरुको माग सम्बोधन गर्न मन्त्रालय तयार छ । 'बक्सअफिस' लागू नगर्ने हो भने यस विषयमा अब बहस गर्न बन्द गर्नुस् ।' 
 
पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र बोर्ड अध्यक्ष निकिता पौडेलको सक्रियतामा काठमाडौंको थापाथलीमा रहेको शिखर कम्प्लेक्स सुबिसु बिल्डिङमा नेपाली बक्सअफिस सिष्टमको ‘डाटा हब’ सञ्चालनमा आइसकेको छ ।
 
मल्टिप्लेक्स हलमा बक्सअफिस सिस्टम जडान भएपनि हल सञ्चालकको अवरोधका कारण सिंगल हलमा बक्सअफिस प्रणाली लागू गर्न सरकारलाई अहिले पसिना छुटेको छ । 
Most Visited News (monthly)