Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघको वार्षिक उत्सव : पाण्डे र लम्साल सम्मानित | सुवेदी, थापा र दाहाल पुरस्कृत

फिल्मीखबर, काठमाण्डौ, 2018/05/22
 
चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
 
 
आफ्नो १९ औं बार्षिक उत्सवको अवसरमा संघले दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र पत्रकार सम्मान २०७५' र लक्ष्मण सुवेदी र सन्ध्या थापालाई 'चलचित्र पत्रकारिता पुरस्कार २०७४' प्रदान गर्‍यो । 
 
 
त्यस्तै, गत वर्षदेखि वितरण गर्न थालिएको 'प्रोत्साहन पुरस्कार २०७५' फिल्मीखबर डटकममा कार्यरत अन्जान दाहाल (मनिष) लाई एक थान ल्यापटप, ताम्रपत्र र ट्रफीसहित प्रदान गरिएको छ ।  
 
 
 
 
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सम्मानित तथा पुरस्कृत पाँच जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे । पुरस्कृत सुवेदी र थापालाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।
 
 
आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो ।
 
 
राज्यमन्त्री बाँस्कोटाले चलचित्र पत्रकारको हकहितमा काम गर्न राज्य सधै तयार रहेको बताए । उनले भने, 'सबै क्षेत्र सबल भएमात्र देश विकास हुन्छ । चलचित्र पत्रकारिताको क्षेत्रमा सरकारले गर्न सक्ने सबै सहयोग गर्नेछ ।'
 
 
यस्तै, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले संघको एसोसिएन शाखा मध्ये सक्रिय मानिएको चलचित्र पत्रकार संघले पत्रकारितको विकासका लागि पुरस्कार सम्मानसहित विभिन्न कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्ति गरे ।  
 
 
कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्य, पुर्व अध्यक्ष विदुर गिरी, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायत विभिन्न चलचित्र सम्बन्धि संघ-संस्थाहरुबाट आएका व्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए ।
 
 
हरिवंश आचार्य, करिश्मा मानन्धर, झरना थापा, रमेश उप्रेती, निर्मल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, शोभित बस्नेतलगायतका कलाकारहरु पनि कार्यक्रममा उपस्थित थिए । 
 
 
कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली चलचित्रको विकासमा चलचित्र पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि तत्पर भएर लाग्ने बताए ।
 
Most Visited News (monthly)