हरर जानरामा निकै कम फिल्म बनेका छन् नेपालमा । किनभने यस किसिमका फिल्म हेर्ने दर्शकको संख्या निकै कम छ । नेपालमा ‘झिग्राना’, ‘माला’, ‘एक दिन एक रात’, ‘आवरण’, ‘पाउजु’ जस्ता हरर फिल्म निर्माण भइसकेका छन् । तर, यी कुनैले पनि बक्सअफिसमा कमाल गर्न सकेनन् ।
हरर जानरामा फिल्म निर्माण गर्नु आफैमा चुनौतीपूर्ण छ । पर्दाका पात्रले दर्शकमा डर उत्पन्न गराउनु सानोतिनो काम होइन । हरर फिल्मले डर र त्रासको आँधिहुरी ल्याउन नसके फिल्म डब्बा बन्छ । संसारका जुनसुकै वर्गका व्यक्तिले सजिलै बुझ्ने हरर जानरा हो तर यो जानरामा फिल्म निर्माण गर्नु पनि उतिक्कै जोखिमपूर्ण छ ।
भुतप्रेतको विषयमा फिल्म निर्माण गरेर विल्लीबाठ भएका धेरै निर्माताहरुको अवस्था देख्दादेख्दै अभिनेत्री ऋचा शर्माले यही विधामा फिल्म निर्माण गरेकी छिन् । जेठ ११ गते उनी अभिनीत तथा निर्मित फिल्म 'सुनकेसरी' देशभर प्रदर्शनमा आउँदैछ ।
उनी आफूले अन्तर्राष्ट्रिय स्तरको हरर फिल्म निर्माण गरेको बताउँछिन् । उनी फिल्मले दर्शक तर्साउने तर दर्शकले आफूलाई नतर्साउनेमा पनि ढुक्क छिन् ।

उनी भन्छिन्, 'मैले करिअरको सुरुवातदेखि नै विभिन्न विधाका फिल्ममा काम गर्ने मौका पाएँ । 'सुनकेसरी' मेरो करिअरको अर्को च्यालेञ्जिङ रोल हो । हामीले रिक्स मोलेरै यो फिल्म बनाएका हौं । दर्शकलाई कस्तो लाग्छ त्यो भोलीको कुरा हो तर हामी भने यसबाट सन्तुष्ट छौं ।'
यसका निर्देशक अर्पण थापा 'सुनकेसरी' ले हरर जानरामा एउटा इट्टा थप्ने काम गर्ने बताउँछन् । उनी भन्छन्, 'म आफू नै भुतप्रेतसँग धेरै डराउने हुँदा म आफूभित्रको डर पर्दामा ल्याउँदा त्यसले एउटा समग्र जमातलाई समात्न सक्छ भन्ने लागेर 'सुनकेसरी' बनाएको हुँ ।' उनले यस फिल्मले हरर जानराप्रति दर्शकको विश्वास बढ्ने ठोकुवा गर्छन् ।
नेपालमा स्तरिय हरर फिल्म बन्दैन भन्ने धारणा बनाएका दर्शकलाई 'सुनकेसरी' को प्रचार सामाग्रीले भने केही आशाको ज्योति बाल्न सफल भएको देखिन्छ । ट्रेलर र पोष्टरमा देखिएको ऋचाको डरलाग्दो अवतारका कारण पनि यसले बक्सअफिसमा सुखद नतिजा ल्याउने फिल्मी पण्डितहरुको विश्वास छ ।
पछिल्लो समय नेपालमा कमेडी र लभस्टोरी फिल्महरुको बाहुल्यता छ । यसकारण ऋचाको हरर फिल्मले कति दर्शक बटुल्न सफल हुने हो यसै भन्न सकिँदैन । यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ ।
ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

