शनिवार फिल्मीखबर डटकममा प्रकाशित 'रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन छ प्रदीपको ‘रोजी’ ?' शिर्षकको समाचारले सिनेवृतमा ठूलै तरंग ल्याएको छ । यो समाचारपश्चात् स्क्रिप्ट राईटर तथा निर्देशक शिवम् अधिकारी तनाबमा देखिएका छन् ।
उनले निर्देशन गर्न लागेको तथा उनकै कथा रहेको फिल्म 'लभ क्याफे' २०६८ सालमा आफ्नै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले रोजी महर्जनको हत्या गरेको विषयमा आधारित छ । फिल्मको नाम चलचित्र विकास बोर्डमा समेत दर्ता भइसकेको छ ।
'लभ क्याफे' को कथा केही महिना पहिला निर्देशक अधिकारीले फिल्म ‘रोजी’ का निर्देशक निरक पौडेललाई सुनाएका थिए । उक्त स्टोरीमा गोपीकृष्ण मुभिज फिल्म निर्माण गर्ने इच्छुक देखिएको थियो । पछि विभिन्न कारणले अधिकारी र पौडेलबीच टिमअप हुन नसकेपछि 'लभ क्याफे' कै कथामा ‘रोजी’ निर्माण हुन लागेको खबर बाहिरिएको छ ।

फिल्मीखबर डटकमसँगको कुराकानीमा निर्देशक अधिकारी भन्छन्, 'मैले 'लभ क्याफे' पूरा स्क्रिप्ट निर्देशक निरक पौडेललाई सुनाएको थिएँ । पछि हामीबीच कम्यूनिकेसन ग्याप भयो । मैले उहाँहरुको स्क्रिप्ट त सुन्न पाएको छैन तर 'लभ क्याफे' को कथा 'रोजी' मा दुरुस्तै छ भन्ने सुनेको छु । यदी सत्य हो भने कपीराइटको मुद्धा हाल्छु ।'
उता निर्देशक निरक पौडेल शिवम् अधिकारीको 'लभ क्याफे' को स्क्रिप्टसँग ‘रोजी’ को 'स' पनि नमिल्ने दावी गर्छन् । उनी भन्छन्, 'हो मैले शिवम् को स्क्रिप्ट सुनेको हुँ । तर, उहाँको स्क्रिप्टसँग ‘रोजी’ को 'स' पनि मिल्दैन ।' उनी रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको छेउ-पुच्छर केही नमिल्ने बताउँछन् ।
उनले थपे, 'रोजी महर्जनको हत्या प्रकरणसँग फिल्मको कहानी मिल्दैन । महर्जनको विषयमा स्क्रिप्ट लेखिरहेका राईटरहरुलाई समेत मैले सुटिङमा बोलाएर छलफल गरेको थिएँ । उहाँहरुले ‘रोजी’ को कथा रोजी महर्जनको जीवनसँग नमिल्ने बताउनुभएको छ ।'
निरकले निर्देशन गर्ने ‘रोजी’ मा युवा स्टार प्रदीप खड्का लिड रोलमा छन् । उनको जोडीको रुपमा अभिनेत्री परमिता आरएल राणा देखिँदैछिन् । कर्मा शाक्य, मिरुना मगरलगातका कलाकारहरुको पनि यसमा अभिनय छ । यसको कथा केदार भुषालले लेखेका हुन् ।

