२०६८ साल साउन २० गते ललितपुरबाट अपहरणमा परेकी थिइन् २१ वर्षिय रोजी महर्जन । अपहरणमा परेको चार दिनपछि ललितपुरको नल्लुमा उनी मृत फेला परेकी थिइन् । त्यसबेला यो घट्नाले सिंगो देश तताएको थियो ।
प्रहरीको अनुसन्धानबाट उनको हत्या प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गरेको खुलेको थियो ।
लोहारले फिरौतीबापत २० लाख पाउने आशमा महर्जनमाथी गोली चलाएको प्रहरीसमक्ष बयान दिएका थिए । अहिले सुबास र लोहार जेल जीवन विताइरहेका छन् ।
रोजीको हत्या प्रकरणको विषयमा युवा स्टार प्रदीप खड्काको लिड रोल रहने फिल्म ‘रोजी’ निर्माण हुन लागेको चर्चाले यतिबेला सिनेवृत खुब गर्माएको छ ।
यस विषयमा निर्माण टिमबाट कुनै औपचारिक जानकारी प्राप्त भएको छैन तर फिल्मको कथा रोजी महर्जनको हत्या प्रकरणभन्दा खासै अलग छैैन । यस फिल्ममा प्रदीप आफ्नी प्रेमिका रोजी राणाको हत्या अभियोगमा जेल जीवन विताइरहेको दृश्य छ ।
गएको केही दिन अगाडि बालाजुमा रहेको एनएफडिसीको हलमा अदालतको कठघरामा प्रदीप आफ्नी प्रेमिकाको हत्या आफूले नै गरेको स्विकार गरिरहेको अवस्थामा भेटिएका थिए । उनी भन्दै थिए, 'रोजीलाई मैले मारेको होइन । मुक्ति दिएको हुँ ।'
फिल्मको नाम रोजी महर्जनकै नामबाट राखिनु, महर्जनको हत्या योजना आफ्नै प्रेमीले बनाएझैँ फिल्ममा पनि प्रेमिकाको हत्या आफ्नै प्रेमीले गरेको दृश्य राखिनुले पनि प्रदीपको 'रोजी' रोजी महर्जनको वास्तविक घट्नासँग नजिक भएर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ । अब यसको खुलासा कि निर्माण टिम नभए फिल्म रिलिजसम्म त पर्खिनै पर्नेछ ।
यसमा प्रदीपको जोडीको रुपमा अभिनेत्री परमिता आरएल राणा छिन् । मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरुको पनि यस फिल्ममा अभिनय रहनेछ । जेठ ६ गतेबाट यो फिल्मको औपचारिक रुपमा छायांकन आरम्भ हुँदैछ । निरक पौडेलले यसलाई निर्देशन गर्दैछन् ।

