छायांकन सकिएर हाल पोष्ट प्रोडक्शनमा रहेको फिल्म ‘दि कर्मा’ मा नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा तथा कलाकार बुद्दी तामाङ्गको इन्ट्री भएको छ ।
.jpg)
सुटिङ सकिएपछि मात्र निर्माण टिमले यो कुराको खुलासा गरेको हो । कलाकारको भूमिका कसको कस्तो छ त्यो भने गीत र ट्रेलर आएपछि मात्र खुलासा गर्ने निर्माता जय राज रायले बताए । फिल्म घोषणाताका मुख्य नायिकाको छनौट गर्न बाँकी थियो ।
यसमा परमिता र नीतासँगै बुद्दीले प्रमुख भूमिका निभाएका छन् । ‘दि कर्मा’ मा भारतका मोडल तथा कलाकार करण वर्माको पनि लिड रोल छ । तीन चर्चित कलाकारको नाम खुलासा गर्दै फिल्मको सुटिङको क्रममा खिचिएका केही अचल तश्बिरहरु पनि निर्माण टिमले सार्वजनिक गरेको छ, जसमा परमिताको लुक्स निकै भिन्न देख्न सकिन्छ ।
उनी एक सिंहासनमा आकर्षक आसनमा बसेकी छिन् । तश्बिर हेर्दा उनी फिल्ममा रानी वा लेडी डनको भूमिकामा हुन सक्ने अनुमान लगाउन सकिन्छ । उनको छेवैमा कलाकार बुद्दी देखिएका छन् । उता नीता भने फरक तश्बिरमा आँखाबाट गोली मारिरहेकी छिन् ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा भएको छ । जय राज रायको कथामा रहेको यस फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।
.jpg)
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको छ ।
भारतमा पनि फिल्म प्रदर्शन गरिने निर्माता रायले बताए । नेपालमा भने दि कर्मा आगामी भदौमा प्रदर्शन गरिने बताइएको छ ।

