फिल्म 'कृ' को ट्रेलर रिलिज कार्यक्रममा सञ्चारकर्मी नरेश भट्टराईले अभिनेता अनमोल केसीलाई 'मेगास्टार' उपाधिले सम्बोधन गरेपछि यस विषयले ठूलै बहस जन्मायो । ४ हिट फिल्म दिँदैमा उनलाई 'मेगास्टार' भनेर सम्बोधन गर्नु गलत हुने धेरैले तर्क राखे ।
दर्शक पनि यस विषयमा विभाजित भए । अनमोलका डाईहार्ट फ्यानले 'मेगास्टार' भनिनु सही हुने विचार राखे भने कतिले 'स्टार' सम्म भनिनु गलत नहुने बताए । अचेल एक फिल्म हिट हुनसाथ त्यसका लिड कलाकारलाई 'स्टार' भनिने चलन छ । दुईटा फिल्म हिट भए 'सुपरस्टार' समेत भन्न थालिन्छ ।
लाग्छ अचेल 'स्टार' र 'सुपरस्टार' को उपाधि बजारमा किन्न पाइन्छ । जसले जुन रोज्यो त्यो उसैले पाउने । बुधवार फिल्म 'रोजी' को मुहर्त समारोहमा अभिनेता कर्मा शाक्यले अभिनेता प्रदीप खड्कालाई 'सुपरस्टार' भन्दै सम्बोधन गरे ।
सम्भवतः पहिलो पटक प्रदीपलाई 'सुपरस्टार' का रुपमा सम्बोधन गरिएको हो । प्रायः सञ्चारमाध्यममा उनको नामको अगाडि 'युवा स्टार' जोड्ने गरिन्छ ।

कर्माले एउटै स्क्रिनमा काम गर्ने हुँदा प्रदीपलाई फुरुक्क बनाउन 'सुपरस्टार' भन्नु गलत होइन तर हरेक एक वजनदार वाक्यको पछाडि धेरै ठूलो अर्थ लुकेको हुन्छ ।
प्रदीप 'सुपरस्टार' नै हुन् ? पत्रकारको प्रश्नमा कर्मा भन्छन्, 'यति धेरै मिडियाको उपस्थितिले पनि यो कुरालाई प्रमाणित गर्छ । ऊ फिल्मलाई नयाँ बाटोमा लैजाने प्रयासमा छ । यसकारण 'सुपरस्टार' भनिनु गलत होइन ।'
प्रदीपकै लागि झुम्मिएको क्यामेराको झुण्ड देखिँदैमा सुपरस्टार भनिनु गलत हो । बलिउडमा अमिताभ बच्चनभन्दा सलमान, शाहरुख र आमिर खानको अगाडि-पछाडि धेरै मिडिया दौडिएका हुन्छन् । के उसो भए तीन खानलाई अमिताभ बच्चनभन्दा माथिल्लो स्थानमा राख्न सकिन्छ ?
एउटा कलाकारले अर्को कलाकारलाई सम्मान गर्नु राम्रो कुरा हो । नेपाली फिल्ममा यो संस्कार विस्तारै हराउँदै गएको छ । कर्माले प्रदीपलाई 'सुपरस्टार' भनेर सकारात्मक सन्देश त दिए तर यो वजनदार ट्याग दर्शकले स्विकार गर्छन् वा गर्दैनन् यो महत्वपूर्ण कुरा हो ।
'प्रेमगीत', 'प्रेमगीत २' र 'लिलिबिली' बाट सफलतामा ह्याट्रिक मारेका प्रदीप 'सुपरस्टार' को बाटोमा भने छन् । 'सुपरस्टार' को ट्याग आफ्नो काबुमा पार्न उनले एकपछि अर्को सुपरहिट फिल्मको संख्या बढाउँदै जानु पर्ने हुन्छ । यो उनका लागि 'फलामको चिउरा चपाउनु' भन्दा कम होइन ।

