म्युजिकल डट ली एपमा एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने अचेल ट्रेन्ड नै चलेको छ । यसको फाइदा उठाउँदै जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बेबी आई लभ यू’ ले ‘म्युजिकल्ली कम्पिटिसन’ को घोषणा गरेको छ ।
जनक पाण्डे निर्देशित फिल्म ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत समेत गर्नेछ ।
निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित फिल्मको दुईवटा टिर्सट पनि प्रदान गरिनेछ ।
‘बेबी आई लभ यू’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय छ ।
सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।

