शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ ले आक्रामक व्यापार नगरेपनि दर्शकबाट भने राम्रो प्रतिक्रिया बटुलिरहेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण र आइतबार नेपाल बन्द र झरीको कारण दर्शकको उपस्थिति हलमा ठेलामठेल नदेखिएपनि अन्य दिन भने राम्रो व्यापार रहेको निर्माता शक्तिबल्दभ घोरासैनीले जानकारी दिए ।
उनी भन्छन्, 'कलेक्सनले मात्र सफलताको मापन गर्दैन । हो, अपेक्षा अनुसार फिल्मले व्यापार गर्न सकेन तर दर्शकको उत्कृष्ट प्रतिक्रियाले हामी सन्तुष्ट छौं । हाम्रो मेहनत बेकार गएन यो नै सबैभन्दा ठूलो सफलता हो ।'

'लम्फू'को कथावस्तु र गीतसंगीतलाई दर्शकले औधि रुचाएका छन् । यस चलचित्रबाट डेब्यु गरेका कबिर खड्काको कामलाई पनि सबैले तारिफ गरेका छन् । निर्देशक गोपालचन्द्र लामिछाने ‘लम्फू’लाई दर्शकले रुचाएकोमा खुसी देखिन्छन् । 'सत्तरी प्रतिशत दर्शकले निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिनुभएको छ, बीस प्रतिशतले औषत प्रतिक्रिया दिनुभएको छ भने दश प्रतिशतले ठिकै रहेको प्रतिक्रिया दिनुभएको छ' लामिछानेले बताए ।
‘लम्फू’ मा कबिरका अलावा मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।
यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । यो फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।
प्रचार-प्रसारको समयमा परिक्षाको कारण उपस्थित हुन नसकेकी तरकारीवाली पत्रकारसँग चलचित्र हेर्न भने हल पुगेकी थिइन् । उनि आगामी शनिवार काठमाण्डौका केहि हलहरुमा दर्शक भेट्न जाने बताएकी छन् ।

