Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा शिव र करिश्माको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/16
एकसमय काँचको पर्दाका सर्वाधिक डिमान्डेड अभिनेता-अभिनेत्री हुन् शिव श्रेष्ठ र करिश्मा मानन्धर । यो जोडीले दर्जन बढी सुपरहिट फिल्म दिएका छन् ।
 
दशक अगाडि यो कपलको हरेक एक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहन्थ्यो । तर, दशक वित्यो यो जोडीलाई पुनः एकसाथ दर्शकले एउटै फ्रेममा देखेका छैनन् । 
 
 
शिव श्रेष्ठको पछिल्लो रिलिज फिल्म 'बागमती' हो भने करिश्माको 'हिरोज' बैशाख २८ गते प्रदर्शनमा आएको थियो । अहिले यी दुई अभिनयभन्दा फिल्म निर्माणमा सक्रिय देखिन्छन् ।
 
करिश्माले करीब २ वर्ष अगाडि शिल्पा पोखरेललाई लिड रोलमा लिँदै 'फागू' बनाएकी थिइन् । उनी चाँडै आफ्नै छोरी कवितालाई अभिनेत्रीमा लिँदै नयाँ फिल्म निर्माण गर्दैछिन् । 
 
उता शिवले आफ्नो छोरा शक्ति श्रेष्ठलाई फिल्ममा डेब्यु गराउँदै 'एउटा यस्तो प्रेम कहानी' निर्माण गर्दैछन्, जसको यतिबेला धमाधम छायांकन भइरहेको छ । यसबाट करिश्माकी छोरी कविताले पनि डेब्यु गरेकी छिन् । पर्दामा शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताले रोमान्स गर्दैछन् । 
 
दशक पहिला पर्दामा शिव र करिश्माको जोडी निर्विकल्प थिए अब यी दुईका सन्तानको जोडीको फिल्मी यात्रा कस्तो रहने हो सबैको चासो सुरु भएको छ । शिव र करिश्मा दुबै आफ्नो सन्तानको डेब्युलाई लिएर निकै हर्षित छन् । 'एउटा यस्तो प्रेम कहानी' मा करिश्मा र शिवको पनि अभिनय रहनेछ । 
 
मंगलवार यस फिल्मको टीजर सार्वजनिक गर्ने क्रममा शिवले करिश्माको पनि अभिनय रहने खुलाए । सार्वजनिक टीजरमा शिवलाई पनि देख्न सकिन्छ । फेरि वर्षौपछि 'आशिर्वाद' जोडी पुनः एउटै फ्रेममा देखिन लागेका हुन् ? यस विषयमा शिवले कुनै पनि जानकारी दिन चाहेनन् । 
 
उनी भन्छन्, 'करिश्माको जोडी सरप्राइज हुनेछ । अहिले नै भन्यो भने मज्जा हुँदैन ।' यसअघि यी दुईले 'सपना', 'आतंकवादी', 'मिलन', 'मनकामना' लगायतका फिल्ममा अभिनय गरेका छन् । 
 
 
'एउटा यस्तो प्रेम कहानी' मा शक्ति र कविताको जोडी, आयुष्मान देशराज जोशीको जोडी प्रियंका कार्की, संयोग राणाको जोडीको रुपमा वर्षा राउत देखिँदैछन् । यसकारण शिवको जोडी बनेर करिश्मा देखिँदैछिन् भनेर अनुमान लगाउन अत्ति मुश्किल नहोला ।
 
यसको थप पुष्टि फिल्मको ट्रेलर अथवा गीत सार्वजनिक नहुँदासम्म भने कौतुहलताकै विषय बन्नेछ । वर्षौपछि पर्दामा शिव र करिश्माको जोडीको कमब्याक भए दर्शकका लागि यो सानोतिनो गिफ्ट हुनेछैन ।
 
आशा गरौँ, यो कपललाई पुनः पर्दामा हेर्ने दर्शकको रहर पानी विनाको माछा झैँ छटपटिने छैन । 
Most Visited News (monthly)