छायांकनरत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मको एक्सन प्याक्ड टीजर सार्वजनिक गरिएको हो ।

अभिनेता द्वय आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतलाई टीजरमा विशेष फोकस गरिएको छ । यसमा आयुष्मानको एङग्री लुक्स देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठ पनि टीजरमा अटेका छन् ।
‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ ।
'मन्दिरा' निर्देशक दिपेश सापकोटा यस फिल्मका निर्देशक हुन् । 'बागमती' निर्माता द्वय यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस फिल्मको निर्माण गर्दैछन् । यसको कथा शिव आफैंले लेखेका हुन् । सुशन प्रजापतिले यो फिल्म खिचिरहेका छन् ।
टीजर हेर्नुस् :-
टीजरसँगै निर्माण टिमले दुई नयाँ कलाकारलाई मिडियासँग भेट गराएको छ । यस फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले डेब्यु गर्दैछन् । टीजरमा भने यी दुई अटेका छैनन् ।
‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको जोडी बाँधिएको छ । खबरअनुसार, यो कपलले सुटिङ ज्वाइन गरिसकेका छन् । कार्यक्रममा उपस्थित करिश्माले छोरी कविताको डेब्युलाई लिएर आफू अचम्मित भएको बताउँछिन् ।
उनी भन्छिन्, 'यो खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन । म आफ्नै ब्यानरबाट कवितालाई लञ्च गर्ने तयारीमा थिएँ तर शिव दाईले उछिन्नु भयो । छोरीकोे डेब्युलाई लिएर निकै खुसी छु ।'

कविता लामो समयदेखि अध्ययनका लागि अमेरिकामा बस्दै आएकी थिइन् । गएको वर्षदेखि भने उनी नेपालमा नै छिन् । उनी अब नेपाली फिल्ममा नै आफ्नो करिअर बनाउने बताउँछिन् । करिश्माले आफ्नो एसईई सकिएपछि छोरीलाई अभिनेत्रीमा लिएर नयाँ फिल्म निर्माण गर्ने बताएकी छिन् ।
शिवले पनि छोराले फिल्ममा डेब्यु गर्न २५ वर्षदेखि प्रतिक्षा गरेको सुनाए । उनी भन्छन्, 'शक्तिले धेरै पहिलादेखि फिल्ममा डेब्यु गर्ने इच्छा व्यक्त गरेको थियो । मैले पहिला अध्ययन सक्न सल्लाह दिएँ । अब बल्ल उसको इच्छा पूरा हुँदैछ ।' शक्तिले आफ्नो पीताको ड्रिम प्रोजेक्टबाट डेब्यू गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।

यस फिल्ममा करिश्माको पनि अभिनय रहने शिवले खुलाए । उनले उनको जोडीको विषयमा भने कुनै जानकारी दिन चाहेनन् । शिव भन्छन्, 'हामी क्रमश एकपछि अर्को टीजर सार्वजनिक गर्दै दर्शकलाई सरप्राइज दिनेछौं । यो एक्सर टीजर भयो । अब लभस्टोरी टीजर चाँडै आउनेछ ।' यस फिल्मको रिलिज डेट भने तय भएको छैन ।

