भदौ ८, सबैको नजर यतिबेला यो मितिमा अडिएको छ । कारण, अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ र सुपरहिट सिरिज 'नाईँ नभन्नू ल' को पाँचौ श्रंखला यही मितिमा प्रदर्शनमा आउने चर्चा छ । निर्माता तथा निर्देशक विकासराज आचार्य 'नाई नभन्नू ल ५' भदौ ८ बाट कतै नसर्ने बताउँछन् ।
यो फिल्मको लगभग छायांकन सकिसकेको छ । उता 'क्याप्टेन' को भने अहिले दमकका धमाधम छायांकन भइरहेको छ । फ्लोरमा जानु अगाडि नै यो फिल्म भदौ ८ मा आउने खबर बाहिरिएको थियो । तर, वितरक र निर्माताले भने यस विषयमा औपचारिक जानकारी दिएका थिएनन् ।
भदौ ८ मा दुई ठूला फिल्म जुध्ने भएपछि यतिबेला सिनेवृत राम्रै तरंगीत बनेको छ । एकातिर अनमोललाई 'नाईँ नभन्नू ल' ब्राण्डसँग भिड्नु चुनौतीपूर्ण रहेको बहस चल्दै गर्दा अर्कोतिर अनमोलको स्टारडमको अगाडि 'नाईँ नभन्नू ल ५' को सुखद नजिता नआउने टिकाटिप्पणी सुरु भएको छ ।

के जुध्लान् त यी दुई फिल्म ? 'क्याप्टेन' का वितरक मनोज राठी भन्छन्, 'हामीले भदौ ८ भनेर रिलिज डेट तोकेकै छैनौं । पहिला सुटिङ सकियोस् अनि मात्र कहिले प्रदर्शन गर्ने टुंगो हुन्छ । भदौ ८ मा पनि आउन सक्छ दशैंमा पनि । अहिलेसम्म कुनै पक्कापक्की भएको छैन ।'
'क्याप्टेन' को सुटिङ सकिन अझै एक महिना लाग्ने हुँदा यो फिल्म भदौ ८ मा आउने सम्भावना निकै न्यून छ । स्रोतका अनुसार, भदौमा रिलिज नभए 'छक्का पञ्जा ३' सँग जुध्न दशैंको फूलपातीमा 'क्याप्टेन' को रिलिज डेट तय हुन सक्ने प्रवल सम्भावना छ । यसअघि पनि अनमोलको 'कृ' गएको दशैंमा 'छक्का पञ्जा २' सँग रिलिज हुने ठूलै हल्लाखल्ला थियो ।
'क्याप्टेन' को सुटिङ नसकिँदासम्म यो फिल्म कहिले आउँछ यसै भन्न सकिने अवस्था छैन । भदौ ८ अथवा दशैंको फूलपातीमै आएपनि 'क्याप्टेन' को प्रतिस्पर्धा सानोतिनो फिल्मसँग भने हुने छैन । यो फिल्ममा अनमोल एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । दीवाकर भट्टराई यसका निर्देशक हुन् ।

