Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको ‘सुनकेसरी’ ले दर्शक तर्साउला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/05/13
नेपालको सन्दर्भमा हरर फिल्मले खासै दर्शकको साथ पाएका छैनन् । कमजोर मेकिङका कारण नेपालमा निर्माण भएका प्रायः हरर फिल्म बक्सअफिसमा पत्तासाफ भएका छन् । हरर कथामा फिल्म निर्माण गर्नु चुनौतीपूर्ण छ । यी फिल्ममा दर्शक तर्सिएनन् भने निर्माता तर्सिने गर्छन् । 
 
नेपालमा 'झिग्राना', 'माला', 'एक दिन एक रात', 'आवरण', 'पाउजु' जस्ता हरर फिल्म निर्माण भइसकेका छन् । तर, यी कुनै पनि व्यवसायिक रुपमा सफल भएनन् । यसैबीच जेठ ११ गतेबाट भर्सटायल अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनित हरर फिल्म ‘सुनकेसरी’ प्रदर्शनमा आउँदैछ । 
 
२ करोडमाथीको लगानीमा अष्ट्रेलियामा खिचिएको फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्मको ट्रेलरले ब्यापारको केही सम्भावना भने देखाएको छ । हलिउड र बलिउडका डरलाग्दा हरर फिल्म हेरेका नेपाली दर्शकलाई ‘सुनकेसरी’ ले हलमा बाँधेर राख्न सक्छ वा सक्दैन यो महत्वपूर्ण कुरा हो । 
 
 
अभिनेत्री ऋचा फिल्मले दर्शक तर्साए पनि दर्शकले आफूलाई नतर्साउनेमा ढुक्क छिन् । ‘मैले कुनै पनि कुरामा सम्झौता नगरिकन अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाएकी छु,’ उनी भन्छिन्, ‘सफल हुनेमा आशावादी छु ।’
 
यस फिल्मका निर्देशक अर्पण थापा हुन् । यसअघि ऋचा र अर्पणले संयूक्त रुपमा 'आधा लभ' नामक फिल्म निर्माण गरेका थिए, जुन बक्सअफिसमा असफल भयो । पछिल्लो समय नेपालमा कमेडी र लभस्टोरी फिल्महरुको बाहुल्यता छ । यसकारण ऋचाको हरर फिल्मले कति दर्शक बटुल्न सफल हुने हो यसै भन्न सकिँदैन ।
 
यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
Most Visited News (monthly)