३ सय बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा अभिनेता पुष्प खड्का अब 'स्टार' बन्ने लाइनमा छन् । उनको अभिनय रहेको 'अझैपनि' र 'दर्पणछाया २' फिल्म
बक्सअफिसमा असफल भएपनि गएको वर्ष आएको फिल्म 'मंगलम' ले राम्रो व्यापार गर्यो ।
बक्सअफिसमा असफल भएपनि गएको वर्ष आएको फिल्म 'मंगलम' ले राम्रो व्यापार गर्यो ।
पुष्पको धरमराउन थालेको फिल्मी करिअरलाई यस फिल्मले ठूलै सास भरेको छ । यस फिल्ममा उनको अभिनयले सबैको तारिफ पायो । फिल्म बक्सअफिसमा हिट भएसँगै उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरिन थालिएको छ ।
यसैबीच उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टिमका सदस्य बनेका छन् । दीपक-दीपाको फिल्ममा काम गर्ने हरेक कलाकारको सपना हुन्छ । पुष्पले 'मंगलम' रिलिजसँगै ठूलो ब्यानरसँग जोडिने मौका पाएका छन् ।
शुक्रवारबाट सुटिङ सुरु भएको ‘छक्का पञ्जा ३’ मा उनको पनि अभिनय रहनेछ । यसमा उनको लिड रोल भने छैन । खबरअनुसार, उनले यो फिल्ममा केमियो रोल पाएका छन् ।
किन केमियो रोल स्विकार गर्नुभयो ? शुक्रवार साँझ कुमारी हलमा 'लम्फू' हेर्न पुगेका उनलाई फिल्मीखबरले प्रश्न गर्यो । उनी भन्छन्, 'मेरो भूमिका धेरै लामो त छैन तर सम्झन लायक छ । स्क्रिप्ट सुनेपछि नाईँ भन्नै सकिनँ ।'
उनी ‘छक्का पञ्जा’ टिमसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँछन् । लिड रोलमा चलेका अभिनेता तथा अभिनेत्रीहरु कुनै पनि फिल्ममा हत्तपत्त केमियो गर्न चाहँदैनन् । मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा’ मा जोडिनु सुखद कुरा हो तर दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरेजस्ता कलाकारको चेपुवामा परिने डर पनि उतिक्कै हुन्छ ।
पुष्पको यो छनौट सही हो वा होइन त्यो भने हेर्न बाँकी छ । 'मंगलम' रिलिजपछि पुष्पले अहिलेसम्म कुनै नयाँ प्रोजेक्टमा हात हालिसकेका छैनन् । अब उनी हतारमा कुनै निर्णय लिने मनस्थितिमा छैनन् ।
'मंगलम' रिलिज अगाडि नै निर्देशक नवल नेपालको निर्देशन रहेको फिल्म 'मन्द-मन्द' मा पुष्प र शिल्पा पोखरेल अनुवन्धित भइसकेका छन् ।

