गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ५१ औं दिनमा प्रवेश गरेको छ । बैशाख २९ गतेबाट फिल्म प्रदर्शनको ५१ औं दिनमा टेकेको हो । शनिवार साँझ फिल्म निर्माण टीमले सफलताकोे खुसी बाढ्ने कार्यक्रम राखेको छ ।
फिल्मका निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको जानकारी दिए । उनले यसअघि निर्देशन गरेको फिल्म 'जात्रा' ले पनि ५१ औं दिन मनाएको थियो । लगातार आफू निर्देशित फिल्मले ५१ दिन मनाउँदा उनी अहिले खुसीले गदगद देखिन्छन् ।
वितरक गोपाल कायस्थले फिल्मको कूल कलेक्सन जोड्न बाँकी रहेको बताए । यस फिल्मले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ ।
यो फिल्मले चौथो हप्तामा आफ्नो प्रदर्शन सुरु गर्दा १० करोड ग्रस कलेक्सन गरेको थियो । यसले ‘छक्का पञ्जा’ ले बनाएको १६ करोडको एतिहासिक रेकर्ड ब्रेक गर्ने अपेक्षा गरिएपनि अब यो असंभव देखिन्छ ।
.jpg)
निर्देशक भट्टराईले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए । यस्तै, फिल्मका प्रस्तुतकर्ता किरण केसीले ५१ औं दिनमा पनि फिल्मलाई दर्शकको साथ कम नभएकोमा खुसी व्यक्त गर्छन् ।
उनले यो फिल्म गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल रहेको बताए ।
उनी भन्छन्, 'व्यापारिक सफलताभन्दा पनि अत्याधिक दर्शक कमाइ गर्न सक्नु हाम्रा लागि सुखद हो ।' निर्माता केसीले बिग मुभिजमा 'छक्का पञ्जा' ले ५१ औं दिनमा गरेको ग्रस 'शत्रु गते' ले ३८ दिनमा गरेको जानकारी दिए ।
गुण सिनेमा हलमा यस फिल्मले इतिहासमै सर्वाधिक कलेक्सन गरेको खबर छ । उक्त फिल्मले अष्ट्रेलियामा ४० र अमेरिकामा ५० शोसम्म पाउने नेपाली फिल्मको इतिहासमै यो पहिलो पटक हो ।
सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

