.jpg)
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को यतिबेला पूर्वको दमकमा जोडतोडका साथ छायांकन भइरहेको छ । अहिले दमकमा जारी 'दमक गोल्डकप फुटबल प्रतियोगिता' मा फिल्मका केही महत्वपूर्ण दृश्य खिच्ने काम भइरहेको छ ।
दीवाकर भट्टराईको निर्देशन रहने यसमा अनमोलसँगै सरोज खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमबी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राईलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
हालैमा फिल्मको सेटबाट प्रशान्तले एक तश्बिर आफ्नो फेसबुकमा अपलोड गरेका छन्, जसमा उनीसँगै अनमोल र विल्सनलगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।
.jpg)
तश्बिरबाटै प्रशान्त यस फिल्ममा फुटबल प्रशिक्षकको भूमिकामा रहेको स्पष्ट हुन्छ । ‘क्याप्टेन’ का लागि उनले आफ्नो लुक्समा केही परिवर्तन गरेका छन् । उता अनमोलले पनि आफ्नो तौल केही कम गरेका छन् । प्रशान्तले शेयर गरेको तश्बिरमा अनमोल ११ र विल्सनलाई ८ नम्बरको फुटबल जर्सीमा देख्न सकिन्छ ।
केही दिनयता दैनिकजसो सामाजिक सञ्जालमा अनमोलको खेलाडी लुक्स सार्वजनिक भइरहँदा निर्माण टिम भने राम्रै तनाबमा देखिएको छ ।
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' को लुक्स रिभिल हुने डरले झण्डै डेढ वर्ष घरको चारकुनामा सिमित भएका अनमोलले ‘क्याप्टेन’ मा भने आफ्नो खेलाडी लुक्स लुकाइराख्न सकेका छैनन् ।

भुवन केसीको निर्माण रहेको यस फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ ।

