फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । जोडतोडले प्रचार गरिएको सलोन बस्नेत स्टारर ‘लम्फू’ सँगै शून्य प्रचारका ‘हिरोज’ र ‘मनाङ्गे नानी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।
गीतसंगीत र ट्रेलरका कारण अन्य दुई फिल्मभन्दा ‘लम्फू’ दर्शकमाझ प्रतिक्षीत थियो । चलचित्र सेन्सर बोर्डबाट जुनसुकै वर्गका दर्शकले हेर्न पाउने ‘यूनिभर्सल सर्टिफिकेट’ प्राप्त यस फिल्मबाट नव-नायक कबिर खड्काले डेब्यु गरेका छन् ।
‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस फिल्मलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
एनबी महर्जनको निर्देशन रहेको फिल्म ‘हिरोज’ ले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकाललगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेकी हुन् ।
यस्तै, यी दुई फिल्मसँगै एकसाथ प्रदर्शनमा आएको खुस बहादुर गुरुङ निर्देशित फिल्म ‘मनाङ्गे नानी’ मा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको लिड अभिनय छ ।

