करीब २ वर्ष अगाडि नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेको एक तश्बिर सामाजिक भाइरल भएपछि कुशुम श्रेष्ठ रातारात चर्चामा आइन् । एक साधारण परिवारकी छोरी सेलिव्रेटी बनिन् ।
हाल चितवनमा बसेर अध्ययन गरिरहेकी उनले यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ बाट अभिनयमा डेब्यू गरेकी छिन् । यसअघि उनलाई अन्य फिल्मबाट अभिनयका लागि अफरै नआएका होइनन् । तर, ‘लम्फू’ नै किन रोजिन् ?
फिल्मीखबर डटकमसँगको एक भेटमा उनी भन्छिन्, 'राम्रो भूमिका पाएँ । अनि नाईँ भन्न सकिनँ ।' कुशुम ‘लम्फू’ बाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गर्ने बताउँछिन् । उनले यस फिल्मबाट पाएको पारिश्रमिक भने खुलाउन चाहिनन् ।
(1).jpg)
के तपाईलाई हेर्न हलसम्म दर्शक जालान् ? फिल्मीखबरको प्रश्नमा उनी भन्छिन्, 'त्यो त थाहा छैन । मलाई चिन्नेहरु त पक्कै जानुहुनेछ । भूमिका राम्रो छ त्यसैले फिल्म हेर्नुभएका दर्शक निराश बन्नुहुन्न ।' भविष्यमा लभस्टोरी फिल्ममा काम गर्ने सोच बनाएकी उनी अभिनेता पुष्प खड्काको ठूलो फ्यान हुन् ।
‘लम्फू’ रिलिजपछि मात्र उनी नयाँ फिल्ममा काम गर्ने वा नगर्ने भन्ने विषयमा विचार गर्ने बताउँछिन् । दर्शकको ध्यान तान्न यसको निर्माण पक्षले पनि तरकारीवालीको अभिनय रहेको फिल्म भन्दै जोडतोडले प्रचार गरिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले 'तरकारीवाली' भनेपछि सजिलै चिन्ने हुँदा यस फिल्म हेर्न दर्शकमा राम्रै हुटहुटी पैदा भएको छ ।
अब कुशुम भएका कारण फिल्मलाई फाइदा होला वा नहोला त्यो भने हेर्न बाँकी छ । यस फिल्ममा सलोन बस्नेत, कबिर खड्का, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

