यही शुक्रवारबाट फिल्म ‘लम्फू’ देशैभर प्रदर्शनमा आउँदैछ । यसले एक युवाको जीवनमा अनायासै आईपर्ने उतार-चढावको कथा बोल्छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको फिल्ममा नव-नायक कबिर खड्काले प्रमुख भूमिका निभाएका छन् ।
सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी, आयान खड्का, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतको पनि उक्त फिल्ममा अभिनय रहेको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकको मनमा ‘लम्फू’ किन हेर्ने भन्ने जिज्ञासा हुनसक्छ । निर्देशक गोपालचन्द्र लामिछानेले यो फिल्म हेर्नैपर्ने केही कारणहरु खुलाएका छन् ।

'यो फिल्ममा आफ्नोपन छ, चरित्र चित्रणमा पनि पूर्णतया आफ्नोपन छ । लम्फूले पूर्ण मनोरञ्जन दिन्छ', लामिछाने भन्छन्, 'फिल्म हेर्नुको मूल ध्येय मनोरञ्जन लिनु हुन्छ, हामीले बनाउनुको अर्थ मनोरञ्जन दिनु हुन्छ । ‘लम्फू’ मा ति तत्वहरुको पूर्ण प्याकेज छ ।'
निर्देशक लामिछानेका अनुसार, अभिनेता सलोन बस्नेतको फरक भूमिका छ । 'सलोनका फ्यानले पुनः एकपटक सलोनलाई नयाँ परिचयमा पाउनेछन्', उनले भने । यसै फिल्मबाट नेपाली चलचित्रमा आएका कबिर खड्काले निकै खारिएको अभिनेताले जसरी नै काम गरेको लामिछानेको भनाई छ ।
फिल्म क्षेत्रमा कबिरले निकै राम्रो सम्भावना बोकेको उनको दावी छ । कबिरको अभिनय प्रतिक्षा गर्नेहरुले पनि यो फिल्म हेर्नैपर्ने निर्देशक लामिछानेले बताए । फिल्ममा रहेका सम्पूर्ण कलाकारहरुको अभिनय उत्तिकै शसक्त रहेको लामिछानेको दावी छ ।
निर्माता शक्दिबल्दभ घोरासैनी भन्छन्, ‘लम्फू’ प्रतिक्षित नहोला तर सम्भावना बोकेको छ ।’ निर्माता घोरासैनीले यो फिल्मबाट आफूले विशुद्द मनोरञ्जन दिने उद्देश्य राखेको बताएका छन् । उनका अनुसार, फिल्म हेरेपछि दर्शक निराश हुनुपर्ने छैन ।

