अभिनेत्री केकी अधिकारी अभिनीत तथा निर्मित फिल्म 'कोहलपुर एक्सप्रेस' दक्षिण भारतीय फिल्म 'मुम्बई एक्सप्रेस' को फोटोकपी रहेको चर्को आलोचना भइरहँदा फेरि सोही फिल्मको दुरुस्तै कपी गरेर नेपाली फिल्म ‘झमक बहादुर’ निर्माण भएको छ ।
.jpg)
यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर हेरेपछि यो फिल्म 'मुम्बई एक्सप्रेस' को नेपाली अनुवाद भन्दा गलत हुँदैन । यसमा कमल हसनको भूमिका अभिनेता अनुप विक्रम शाहीले निर्वाहा गरेका छन् ।
निर्देशक भोमन कटुवाल निर्देशित ‘झमक बहादुर’ मा यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् ।
मिनकुमार तामाङले यसलाई निर्माण गरेका हुन् । यो फिल्मको प्रदर्शन मिति श्रावण १८ लाई तोकिएको छ ।
हुनत, हलिउड र बलिउड फिल्मबाट प्रभावित भएर नेपालमा फिल्म निर्माण भएको यो पहिलो पटक होइन । तर, दुरुस्तै कपी गरेर लाखौं खर्चमा फिल्म निर्माण गर्नु आफैंमा हास्यास्पद कुरा हो ।
फिल्मलाई सिर्जनात्मक विधा मानिन्छ । सिर्जनशीलताको कुशल प्रयोग फिल्ममा हुनुपर्ने गुण हो । तर, आजकाल फिल्ममा सिर्जनशीलता कम, साभार बढी हुन थालेको छ । यसरी नै एकपछि अर्को फोटोकपी फिल्म बन्दै गरे एकदिन नेपाली फिल्मको बजार चौपट नहोला भन्न सकिन्न ।
‘झमक बहादुर’ को ट्रेलर हेर्नुस् :-
'मुम्बई एक्सप्रेस' हेर्नुस् :-

