एकै मितिमा दुईभन्दा बढी फिल्म एकसाथ हलमा लाग्नु अचेल अनौठो भएन । साना बजेटका र कमजोर प्रचारका फिल्म चारवटै भिडेपनि त्यसको खासै चर्चा हुन्न । तर, ठूला बजेट र मल्टिस्टारर फिल्म दुईवटा मात्र पनि एकसाथ रिलिज हुँदा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउने गरेको छ ।
यस वर्षको दशैंमा यस्तै दुई ठूला फिल्म हलमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । लगातार केही वर्षदेखि दीपक- दीपाको फिल्मले दशैंको फूलपाती छाडेको छैन । यो मिति अहिले 'छक्का पञ्जा' टिमको कब्जामा छ ।
यो मितिमा कुनै फिल्म रिलिज गर्नु भनेको 'बाघको मुखमा हात हाल्ने सरह हो' भनिन थालिएको छ । यसैबीच, निर्माण घोषणाकै क्रममा अशोक शर्मा निर्देशित तया निर्मित फिल्म ‘जय भोले’ ले दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गर्यो ।

यसमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, राजाराम पौडेल लगायतका कलाकारहरु लिड रोलमा छन् । उक्त फिल्मको छायांकन सकिएर टिजर युट्युब र हलमा बजिरहेको छ । चाँडै यसको गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।
तर, ‘छक्का पञ्जा ३’ को भने सुटिङसम्म सुरु भएको छैन । अझै यो टिम स्क्रिप्टमै मिहिनेत गरिरहेको छ । बैशाख १७ गतेबाट सुरु हुने भएपनि स्क्रिप्ट चित्त नबुझेपछि दीपकराज गिरीले सुटिङ डेट सारे । बैशाख अन्तिमबाट पनि यसको सुटिङ सुरु हुने छाँटकाट देखिएको छैन ।
केही दिन अझै स्क्रिप्टमै अल्झिए यो फिल्म दशैंको फूलपातीमा आउने संभावना टर्दै जानेछ । हुनत, फिल्मको नाम ब्राण्ड भइसकेका कारण निर्माण टिमले पब्लिसिटीमा धेरै समय खर्चिनु पर्दैन तर सुटिङ गर्नै ढिला भए सम्पादन, डविङलगायतका कामले झन्डै ३ महिना फिल्म टेवलमै थन्किन्छ ।
जेठ पहिलो साताबाट पनि ‘छक्का पञ्जा ३’ को छायांकन सुरु नभए ‘जय भोले’ ले एकल रिलिजको अवसर पाउनेमा लगभग पक्कापक्की हुनेछ ।
यस फिल्मलाई तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । दीपकसँगै दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकारहरुको यसमा लिड अभिनय रहने पक्का भइसकेको छ ।

