
'ऐश्वर्य' फेम खलनायक प्रशान्त ताम्राकार र ‘गाँजा बाजा’ अभिनेता सुशील सिटौलाले पहिलो पटक स्कृन शेयर गरेको फिल्म ‘रणवीर’ को यतिबेला धमाधम छायांकन चलिरहेको छ ।
काठमाडौंमा झन्डै ६५ दिनको छायांकन सकाएपछि बाँकी अहिले धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा भईरहेको छ ।

एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको केही दृश्य र दुई गीतको खिच्न बाँकी छ । निर्माण घोषणाकै क्रममा महँगो बजेट बताइएको यस फिल्मलाई विना सम्झौता छायांकन गरिरहेको निर्माण टिमको भनाइ छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् ।

फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का यसै फिल्मबाट डेब्यु गर्दैछिन् ।

यसमा महेश पौडेलको छायांकन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गीतमा गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् ।

