'चपली हाईट २' फेम अभिनेत्री परमिता आरएल राणा लामो समय अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा रहिन् । यही फिल्मबाट यी दुईले डेब्यु गरेका थिए । फिल्ममा काम गर्दै सुरु भएको प्रेम चक्कर अन्ततः रिलिजसम्म मात्र टिक्यो । यसपछि यी दुई दुई ध्रुवका भए ।

यस्तैमा फिल्म 'कथा काठमाण्डू' को सेटमा रहँदा आयुष्मान, अभिनेत्री प्रियंका कार्कीको प्रेममा 'दिवाना' भए । सुटिङको अगाडिसम्म 'भाई' भनिरहेकी प्रियंका पनि आयुष्मानको प्रेमबाट टाढा भाग्न सकिनन् । अहिले यी दुईको प्रेम राम्रै झाँगिएको छ ।
उता, आयुष्मानकी एक्स गर्लफ्रेण्ड परमिताको जीवनमा पनि नयाँ व्यक्ति अर्थात्, प्रेमीको अगमन भएको छ । उनी अचेल हिसि लोसाङ नामक युवकको प्रेममा छिन् । परमिता आफैंले २३ अप्रिलमा आफ्नो प्रेमीको तश्बिर इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।
रोचक कुरा त उक्त तश्बिरमा अभिनेत्री प्रियंका कार्कीले कमेन्ट गरेकी छिन् । उनले प्रेम बोल्ने पानको पातको स्टिकर दिएर परमितालाई बधाई दिएकी छिन् । प्रियंकाको कमेन्टको रिप्लाई गर्दै परमिताले पनि पानको पातको स्टिकर ठेलिदिएकी छिन् ।

हाल प्रियंका र परमिताले सँगै फिल्म ‘चङ्गा चेट’ गरिरहेका छन् । यसमा आयुष्मानको पनि लिड रोल छ । केही हप्ता अगाडि प्रियंका र परमिताको एउटा सेल्फी पनि बाहिर आएको थियो । खबरअनुसार, अहिले आयुष्मानका पूर्व र वर्तमान गर्लफ्रेण्ड निकै मिल्ने साथी बनेका छन् ।

