दीपक-दीपा क्याम्पका भरपर्दा व्यक्ति हुन् हास्यकलाकार केदार घिमिरे । उनलाई यो क्याम्पबाट बाहिर गएर फिल्म गर्न अनुमती छैन । यदी गरे पनि दीपक वा दीपाको अनुमती चाहिन्छ ।
यस्तैमा पहिलो पटक केदार यो क्याम्पबाट बाहिर निस्किएर सुदर्शन थापा र पूजा शर्माको ब्यानरसँग जोडिए । फिल्म ‘रामकहानी’ को एक हिस्सा बने । दीपाकै अनुमती पश्चात्, उनले यो फिल्म गरेका हुन् । नेपालका चल्तीका नायकले बुझ्ने पारिश्रमिक उनले यो फिल्मबाट हात पारेका छन् ।
निर्माण टिम र उनी आफैं यस फिल्मका लागि १० लाख बुझेको बताउँछन् । ‘रामकहानी’ भाद्र २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केदारसँगै पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको यसमा लिड रोल छ ।

सोमवार यस फिल्मको पहिलो गीत सार्वजनिक गरियो । ‘तिम्रो लागी म छु’ बोलको गीत पूजाको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । यो गीत सार्वजनिक गर्न राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ केदार श्रीमतिसँग पुगेका थिए ।
आफ्नो भनाई राख्ने क्रममा उनले पूजालाई जन्मदिनको शुभकामना दिँदै भने, ‘उनी एकदमै सरल लाग्यो । झण्डै २ महिना हामी सँगै रह्यौं । कहिले रिसाएको देखिन मैले । शालीन स्वभावकी छिन् । बल्ल थाहा भयो उनी बुद्ध जयन्तीमा जन्मिएकी रहेछिन् । यसैले पो उनको स्वभाव बुद्धको जस्तो रहेछ ।’
पूजाले केदारलाई ‘माग्नु’ भन्दिरहेछिन् । उनी भन्छिन्, ‘मलाई माग्नुसँग पहिलादेखि नै काम गर्न खुब मन थियो । दीपा दिदीलाई धेरैपटक आग्रह गरेपछि हामीले माग्नु पायौं । उहाँसँग काम गर्न पाउँदा एकदमै खुसी छु । भोलीका दिनमा दीपा दिदीले दिनुभयो भने फेरि काम गर्ने इच्छा छ ।’
यस फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सौरभ लामाले खिचेको यस फिल्मलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

