जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हैरान’ ले प्रतिभाको खोजी गर्ने भएको छ । ‘हैरान च्यालेन्ज’ अन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने भएको हो ।
नृत्य, अभिनय र गायन विधाका नव-प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान सुरु गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ ।
बैशाख २० गते झापाको विर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा तथा २८ र २९ गते काठमाडौंमा हुनेछ ।
अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् । तीनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ ।

यस्तै, टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत ‘हैरान’ टिमले जनाएका छन् । फिल्मका निर्माता तथा अभिनेता गजित बिष्टका अनुसार, पुरस्कार स्वरुप करिब दश लाख खर्च हुनेछ ।
छनौट चरणमा प्रतियोगिले एउटा ‘हैरान’ फिल्मको र अर्को आफूले नै छनौट गरेको गीतमा २ मिनेटमा आफ्नो प्रस्तुति दिनु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म ‘हैरान’ का कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।
यो फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । यसअघि उनले ‘लभ यु बाबा’ निर्देशन गरेका थिए । ‘हैरान’ मा सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

