
बैशाख २१ गतेबाट अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘डमरुको डण्डीबियो’ प्रदर्शनमा आउँदैछ । उनी अभिनीत हरेक एक फिल्म दर्शकमाझ प्रतिक्षीत हुने गर्दछन् । ट्रेलर र गीतका कारण प्रदर्शन पूर्व नै यस फिल्मले राम्रो हाइप बनाएको छ ।

प्रचार-प्रसारलाई पनि तिव्र बनाइएको फिल्म यूनिटले शनिवार दिउँसो टुँडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज राखेको थियो । उक्त च्यालेन्जमा फिल्मका प्रमुख कलाकारसँगै सयौं प्रतिस्पर्धी सहभागी थिए । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथा यस फिल्मले बोल्छ ।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई रु. २५००, छैंटो ठ्याक लगाउनेलाई रु. १५००, पाँचो ठ्याक लगाउनेलाई रु. ५०० बराबरको फूड वा कफी कुपन वा टिसर्ट-क्याप र इनर्जी ड्रिंक्स, तियो/चारो लगाउनेलाई टिसर्ट र पेन पुरस्कार दिइएको थियो ।
उक्त कार्यक्रममा खगेन्द्रले पनि ठ्याक लगाए । टुँडिखेल ग्राउण्डमा उनीसँग सेल्फी खिच्नेको भीड थोरै थिएन ।

खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।

