Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन गुमाउँदैछ अवार्डले आफ्नो गरिमा ?

मनिष अन्जान, काठमाण्डौ, 2018/04/28
नेपालमा हरेक वर्ष झण्डै एक दर्जन बढी अवार्ड आयोजना हुन्छन् । चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट प्रदान गर्ने 'राष्ट्रिय चलचित्र पुरस्कार' देखि विदेशमा हुने 'नेफ्टा अवार्ड' सम्म वर्षौनी हुँदै आएका छन् । तर, विकास बोर्डले प्रदान गर्ने अवार्ड बाहेक अन्य प्राइभेट कम्पनीले वितरण गर्ने अवार्ड आजसम्म विवादरहित हुन सकेका छैनन् । 
 
फिल्मको मुल्यांकन गर्न जुरी राखिन्छ । तर, जुरी नामका लागी मात्र । अवार्ड कसलाई दिने त्यसको निर्णय जुरीको हातमा हुँदैन । पछिल्लो समय आयोजक टिमले आफ्नै मनोमानीमा अवार्ड बाढ्ने गरेको आरोप लाग्दै आइरहेको छ । अझ, मनोनयनमा परेका कलाकारले अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गरेको खण्डमा अवार्ड अरुलाई जाँदैन । 
 
अचेल त नृत्य प्रस्तुत गर्नु पनि पर्दैनन् । कार्यक्रममा उपस्थित हुँदा मात्र पनि अवार्ड लैजाने लगभग पक्का हुन्छ । कारण, पछिल्लो समय नेपाली फिल्म अवार्डप्रति चलचित्रकर्मीको कुनै चासो देखिन्न । यसैकारण अवार्ड कार्यक्रममा १ दर्जन कलाकार पनि मुश्किलले उपस्थित हुन्छन् । त्यो पनि अवार्ड प्राप्त गर्नेहरु मात्र । 
 
अवार्ड वितरणमा पनि 'आफन्तवाद' हाबी हुँदा नेपालमा अवार्डले आफ्नो गरिमा नै गुमाउँदै गएको छ । अचेल अवार्ड लिनेलाई भन्दा हेर्नेलाई लाजमर्दो स्थीति सृजना हुन थालेको छ । अवार्डलाई कमाइखाने भाँडो बनाइएको गुनासो चलचित्रकर्मीहरुको छ । 
 
 
अवार्ड भनेको के हो ? किन गरिन्छ अवार्ड ? आयोजक कम्पनीहरु नै यस विषयमा अनविज्ञ छन् । कामको उत्कृष्ट मुल्यांकन गरेर अवार्ड वितरण गरिनु पर्ने हो तर जो आयोजक टिमसँग नजिक छ र जो कार्यक्रममा उपस्थित भएर नृत्य प्रस्तुत गर्छ अवार्ड उसैलाई दिइने परम्परा बस्दै गएको छ । जसकारण अवार्ड, अवार्ड भइरहेको छैन कुनै सामान विक्रि गर्ने 'स्टल' बनिरहेको छ । 
 
बिहीवार राजधानीमा भएको छैठौँ 'एनएफडिसी अवार्ड' पनि विवादबाट टाढा रहन सकेन । लाखौं खर्च गरेर नेपालकै सबैभन्दा महँगो पाँचतारे होटल हायातमा उक्त कार्यक्रम आयोजक गरिएको थियो । तर, केही विधामा बाँडिएको अवार्डप्रति चलचित्रकर्मीले सामाजिक सञ्जालमा यतिबेला असन्तुष्टि व्यक्त गरिरहेका छन् । 
 
यस कार्यक्रममा उपस्थित प्रायः सबैले अवार्ड उचाले । अवार्ड समारोहमा कहिल्यै देखिँदै नदेखिने कलाकारहरु पनि गमक्क परेर पुगेको पुग्दा को-कसले अवार्ड पाउँदैछन् त्यसको सूची घोषणा अगावै पत्रकारहरुले तयार पारिसकेका थिए । र, केही विधा बाहेक अधिकांश अवार्ड पत्रकारले तयार पारेको सूची अनुसार नै बाँडियो । 
 
नेपाली फिल्म अवार्डको अवस्था दयनिय बनिरहेको यसबाट नै स्पष्ट हुन्छ । यसले अवार्ड प्राप्त गर्नेलाई फेसबुकमा फोटो हालेर लाइक्स कमाउन त ठूलै सहयोग गर्छ तर आम मानिसले गर्ने अवार्डप्रतिको विश्वास के हुन्छ ? यस्तै अवस्था रहिरहे कुनै दिन 'स्टल' राखेर अवार्डको मूल्य तोकिने दिन नआउला भन्न सकिन्न ।
Most Visited News (monthly)