Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ निर्देशक र प्रदीपको ‘पानी बाराबार’ !

फिल्मीखबर, काठमाण्डौ, 2018/04/27
बिहीवार राजधानीमा भएको ‘छैठौँ एनएफडिसी अवार्ड’ पानीका कारण तितरवितर भयो । पाँच तारे हायात होटलको ग्राउण्डमा अवार्ड कार्यक्रम राखिएको थियो । साँझ पर्नै लाग्दा सुरु भएको वर्षा अबेरसम्म पनि नरोकिएपछि होटलको एक कुनामा गएर अवार्ड बाँडियो ।
 
 
पानीका कारण उक्त कार्यक्रम अस्तव्यस्त त भयो तर केही रोचक घट्नाहरु पनि घटे । त्यसमध्येको एक घट्ना हो युवा स्टार प्रदीप खड्का र ‘लिलिबिली’ निर्देशक मिलन चाम्सबीचको तिक्तता । झण्डै साढे ६ बजे सुरु भएको अवार्डमा सहभागी हुन मिलन करीब साढे ५ बजे नै पुगेका थिए । 
 
लगभग अवार्ड सुरु हुन केही मिनेट मात्र बाँकी रहँदा टुप्लुक्क देखा परे प्रदीप खड्का । उनीसँग ‘लिलिबिली’ का निर्माता तथा वितरक गोविन्द शाही पनि साथमा थिए । संयोग कस्तो जुर्‍यो भने मिलन हातमा अवार्डको निमन्त्रणा कार्ड बोकेर ब्लू कार्पेट ओछ्याइएको छेवैमा उभिएर बसेका थिए । 
 
अवार्डमा सहभागी हरेक एकसँग उनले हात मिलाए र केहीबेर गफिए । यस्तैमा उनको आँखा सिढीबाट ओर्लिदै गरेका आफ्नै हिरो प्रदीपसँग जुध्यो । प्रदीपले पनि मिलनतर्फ हेरे । तर, दुबैले कुनै रियाक्सन दिएनन् । प्रदीप सरासर मिलन उभिएको ठाउँभन्दा केही अगाडि बढे । निर्देशक चाम्सले पनि उनलाई मतलब गरेनन् । 
 
 
बरु, उनीसँगै आएका गोविन्दसँग भने उनले केही कुरा गरे । प्रदीप भने मिडियाका लागि तश्बिर खिचाउन व्यस्त देखिए । तश्बिर खिचाएपछि अवार्ड स्थलतर्फ मोडिन खोज्दै गर्दा एक सञ्चारकर्मीले उनलाई ‘लिलिबिली’ निर्माता र निर्देशकसँग तश्बिर खिचाउनका लागि आग्रह गरे । 
 
उनी गाह्रो मान्दै चाम्स र शाही उभिएको ठाउँतर्फ हानिए । मिलन, प्रदीपलाई पूरै वेवास्ता गरिरहेका थिए । मिडियाको आग्रहपछि प्रदीपले निर्देशक चाम्ससँग हात मिलाए । मिलनले पनि हात त मिलाए तर अल्छि पारामा । रमाइलो त के भयो भने दुबैले आँखा जुधाएनन् । न त दोहोरो कुरा नै गरे । 
 
मिलनले मिडियालाई तश्बिर खिचाउन कुनै इच्छा नदेखाएपछि प्रदीप पनि केही नबोलि लुसुक्क हिँडे । प्रदीपको पछाडि पीता भुवन केसीसँग आउँदै गरेका अर्का युवा स्टार अनमोल केसीसँग भने उनले केहीबेर वार्तालाप गरे । तर, आफ्नै हिरोलाई भने उनले बालै दिएनन्  । 
 
 
उक्त दृश्यले यो भन्छ कि प्रदीप र मिलनबीच सम्बन्धमा तिक्तता मात्रै छैन, पानी बाराबार छ । 'एनएफडिसी अवार्ड' मा मिलन चाम्सले 'लिलिबिली' बाट उत्कृष्ट निर्देशकको अवार्ड उचाले तर शुभकामना दिन उनलाई आफ्नै हिरो थिएनन् । 
 
बुझिएअनुसार, अहिले मिलन-प्रदीप एकअर्काको नाम समेत सुन्न चाहन्नन् । ‘लिलिबिली’ रिलिजपछि यी दुईबीच तित्तता सुरु भएको बुझिएको छ । ‘पानी बाराबार’ हुनुको वास्तविकता भने के हो त्यो चाँडै खुल्ने नै छ । 
Most Visited News (monthly)