Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जब भयो अनमोल र प्रदीपको जम्काभेट (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/26
बलिउडमा सलमान खान र शाहरुख खानको टकरावलाई लिएर सधै चर्चा हुने गर्छ । कहिले पारिश्रमिक त कहिले स्टारडम, यी दुईबीच यसै विषयमा प्रायः वार चलिरहेको हुन्छ ।
 
नेपालमा पनि दुई स्टार अभिनेता छन्, जसको पारिश्रमिक र स्टारडमको खबरले बेला बखतमा सिनेवृत तरंगीत बन्ने गर्दछ । 
 
 
ती दुई अभिनेता हुन् अनमोल केसी र प्रदीप खड्का । अनमोलले फिल्म 'कृ' मा २० लाख पारिश्रमिक लिँदा प्रदीपले 'लिलिबिली' मा २२ लाख बुझे ।
 
अहिले यी दुबैका फ्यान समेत विभाजित छन् । पछिल्लो पुस्तामाझ राम्रो फ्यान फलोइंग बनाएका अनमोल र प्रदीपको पहिलो पटक भेट भएको छ । 
 
 
बिहीवार राजधानीमा अयोजित 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार' समारोहमा सहभागी हुन पाँच तारे होटल हायतमा पुग्दा यी दुईको भेट भएको हो ।
 
मधुरो परिरहेको पानीमा अनमोल र प्रदीपको उपस्थितिले अवार्ड माहोल गज्जबले तात्यो । हरेक व्यक्ति यी दुईबीच कुराकानी हुन्छ वा हुँदैन भन्ने हेर्न बसेको कुर्सीबाटै उठेर निहालिरहेका देखिन्थे । यस्तैमा अवार्ड कार्यक्रम झण्डै साढे ६ बजे सुरु भयो । 
 
 
अनमोल अवार्ड कार्यक्रमको सबैभन्दा अगाडि राखिएको कुर्सीमा गएर बसे । उनको साथमा पीता तथा अभिनेता भुवन केसी पनि थिए । यस्तैमा सोही रोहमा रहेको कुर्सीमा गएर प्रदीप बसे ।
 
दुबैको बीचमा गोलो आकारको टेवुल थियो । केहीबेर अनमोल र प्रदीपले एकअर्कालाई देखेनन् । जब अनमोलले आफ्नो अपोजिटमा प्रदीपलाई देखे तब उनले 'हाई' भन्दै हात हल्लाए । 
 
प्रदीपले पनि 'हाई' भन्दै अनमोलसँग हात मिलाउन अगाडि बढे । प्रदीप उठेको देखेर अनमोलले पनि कुर्सी छाडेर अगाडि आए । अनि नेपालका दुई स्टार अभिनेताले पहिलो पटक हात मिलाए । कार्यक्रम हल तालीले गुञ्जियो । उक्त दृश्य कैद गर्न मिडियाका क्यामेराहरुमा थोरै थिएनन् । 
 
 
हात मिलाउँदै गर्दा प्रदीप र अनमोलले एकैचोटीमा 'सन्चै' भन्दै एकअर्काको बारेमा सोधे । दुबैले 'आरामै' रहेको इशारा गरे । अनमोलसँग हात मिलाएपछि प्रदीपले उनका पीता भुवन केसीलाई नमस्कार गर्दै अंकमाल गरे । 
 
केहीबेरमा एक सञ्चारकर्मीले दुबैलाई मिडियाका लागि सँगै तश्बिर खिचाउन आग्रह गरे । दुबैले केही अफ्ठ्यारो नमानी एकअर्कासँग अंकमाल गरे र झण्डै २ मिनेट तश्बिर खिचाए । अंकमाल गर्दैगर्दा दुबैको ओठमा मिठो मुस्कान देखिन्थ्यो । 
 
 
दुई स्टार अभिनेताको अंकमालले अवार्ड माहोल मज्जैले तातिएको थियो । अनमोल र प्रदीपको अंकमालले सकारात्मक सन्देश दिएको अवार्ड समारोहमा उपस्थित चलचित्रकर्मीहरु कानेखुसी गर्दै थिए ।
 
पारिश्रमिक र स्टारडमलाई लिएर सधै लडाई हुँदै आएका यी दुई स्टारको यो भेटले उनीहरुका प्रशंसकलाई भने खुसी तुल्याएको छ । यो भेटले दुबैलाई स्क्रिनमा देख्ने चाहना बोकेका दर्शकको आशामाथी पनि ठूलै सास भरेको छ । 
Most Visited News (monthly)