फिल्म क्षेत्रमा लागेपछि स्टार हुने लोभ सबैलाई हुन्छ । बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लम्फू' बाट डेब्यु गरेका चकलेटी नायक कबिर खड्कालाई पनि त्यो लोभ रहेछ । रिलिज पूर्व नैै क्यूट लुक्सका कारण चर्चामा रहेका उनी तत्कालै स्टार हुने लोभ भने नरहेको बताउँछन् ।
कबिर भन्छन्, 'लोभ कसलाई पो हुँदैन र ? स्टार हुने चाहना मलाई पनि छ । अहिले नै चाहिँ त्यो लोभ छैन । पहिला कलाकारको रुपमा चिनिन चाहन्छु । स्टार हुने वा नहुने भन्ने कुरा त दर्शकको हातमा छ ।'
'लुट' बाट दयाहाङ राई 'गोफ्ले', सौगात मल्ल 'हाकु काले', 'पशुपतिप्रसाद' बाट खगेन्द्र लामिछाने 'पशुपतिप्रसाद', विपिन कार्की 'भष्मे डन' ले चिनिए झैँ आफू पनि लम्फू नामबाट चिनिनेमा विश्वस्त छन् ।
उनी भन्छन्, 'अडिसनको विभिन्न चरण पार गरेर 'लम्फू' मा काम गर्ने अवसर पाएको हुँ । मैले गर्न सक्ने मेहनत गर्न कुनै कसर बाँकी राखेको छैन ।'

अनमोल केसी, प्रदीप खड्का र पल शाह औधि मन पर्ने कबिरलाई उनीहरुसँग स्क्रिन शेयर गर्ने पनि ठूलो इच्छा छ । उनी आफू बलिउडका सुपरस्टार शाहरुख खान र रणबीर कपूरको फ्यान रहेको बताउँछन् ।
'लम्फू' मा अभिनेत्री मरिश्का पोखरेलसँग रोमान्स गरेका कबिरलाई फेरि उनीसँगै काम गर्ने मन छ । 'मैले उहाँको २ वटा फिल्म हेरेको थिएँ । मलाई खुब मन पर्छ मरिश्का ।' उनी भन्छन्, 'मेरो पहिलो फिल्म हो 'लम्फू' तर उहाँको असल व्यवहारले मलाई गाह्रो महशुस नै भएन । त्यसैले फेरि काम गर्ने ठूलो इच्छा छ ।'
उनी अभिनीत फिल्म 'लम्फू' लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतका कलाकारहरुको यसमा अभिनय छ । उक्त फिल्मलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

